जलकुम्भी झारबाट आयआर्जन

  • ख-
  • ख+

अनिता घिमिरे/विनिता सुनार। 
 कास्की ।


प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई तालैतालको शहर पनि भनेर चिनिन्छ । यहा“ ९ वटा ताल छन् । जुन रामसार सूचीमा सूचिकृत समेत भईसकेका छन् । ति तालमा उम्रने जलकुम्भी झार पछिल्लो समय स्थानिय सरकार, पर्यटन व्यवसायी र ताल संरक्षणमा लाग्ने संघ संस्थाहरुकोे टाउको दुखाईको विषय बनेको छ ।


यसले ताल कुरुप बनाउनेसँगै ताल नै छोपिदिने गर्छ । यसलाई हटाउन महानगर र यससँग सम्बन्धित संघसंस्थाले रकम छुट्टाउनेदेखि स्थानियहरुले स्वयमसेवा समेत गर्छन । जलकुम्भी छिट्टो फैलिने झार भएका कारण यसलाई तालबाट निकाले पनि यसको व्यवस्थापनमा समस्या छ ।
तर ताललाई कुरुप बनाउने यहि जलकुम्भी झारबाट पोखराका केहि महिलाहरु हस्तकला तथा सजावटका सामाग्री बनाउन थालेपछि यसबाट केहि फाइदा पनि भएको छ । तालबाट निकालेर फालेको यस झारबाट महिलाहरु ढकिया, पेन दानी, डस्टविन, व्याग लगायतका सामानहरु बनाउँछन् । जसले गर्दा घरायसी काममै दिन बिताउने गरेका महिलालाई फुर्सदको समयमा आयमुलक कार्यमा लाग्न सहयोग पुगेको छ ।


यस्तै मध्येकी एक हुन् मालेपाटन ५ की विष्णु उच्याई ठकुरी । उनी २०७२ सालमा कास्की पोखरा हस्तकला संघले दिएको जलकुम्भी झारबाट हस्तकलाका सामाग्री बनाउने १५ दिने तालिममा सहभागि बनेकी थिईन् । उक्त समयदेखि नै विष्णुले जलकुम्भी झारबाट हस्तकलाका सामाग्री बनाउँदै आएकी छन् भने नमूना हस्तकला भनेर आफ्नो फर्म समेत सञ्चालन गरेकी छिन् । साथै उनले त्यहाँबाट हस्तकलाका सामान बनाउने तालिम समेत दिने गरेकी छन् । उनले जलकुम्भी झारबाट बनाएका सामाग्रीहरुको पनि अरु हस्तकलाका सामाग्री जस्तै बजार माग बढ्दो भएको बताईन् । उनी थप्छिन्—“सबै पक्षबाट म सन्तुष्ट नै छु तर, मेसिन नहँुनाले जलकुम्भीबाट रेशा अर्थात आवश्यक कच्चा पदार्थ हातले निकाल्न गाह्रो भएको छ, यस विषयमा हामीलाई केहि सहयोग भएमा आफ्नो सीपलाई निरन्तरता दिने थियौं ।” यो समस्याबाहेक आफ्नो कामबाट सन्तुष्ट उनी आफूजस्तै अरु महिलाहरुलाई पनि समयको सहि सदुपयोग गर्दै स्वरोजगार बन्न सल्लाह दिन्छिन् ।


पूर्णिमा रिजाल


यस्तै जलकुम्भी झारबाट नै हस्तकलाका सामाग्री तयार पार्ने अर्की महिला हुन पूर्णिमा रिजाल । हस्तकलाको तालिम लिनुभन्दा पहिले निजी विद्यालयमा अध्यापन गराउने उनी अध्यापन पेशा नै छोडेर हस्तकलाका सामाग्रीहरु बनाउँछिन् । ०७२ सालको तालिममा सहभागि उनी पद्मावति हस्तकला उद्योगमा काम गर्छिन् । उनी भन्छिन-“तालिममा सहभागि भएर अहिले आफ्नो सीप प्रदर्शन गर्न पाउँदा एकदमै आत्मसन्तुष्टि भएको छ । र, आर्थिक हिसावले पनि काम अनुसारको पारिश्रमिक पाउँदा खुसी पनि छु । त्यसैले म जस्तै महिला दिदिबहिनीहरु पनि बेरोजगार हुनुहुन्छ या खाली समय छ भने तालिम लिएर आयआर्जनमा लाग्नुस ।”

उदाहरणका लागि उल्लेखित महिलाहरुलाई प्रस्तुत गरिएता पनि पोखराका केहि महिलाहरुले जलकुम्भी झारबाट पनि हस्तकलाका सामानहरु बनाएर आत्मनिर्भर बनेका छन् ।


यसरी महिलाहरुलाई उद्यमशिलतामा लाग्न प्रेरित गर्ने संस्था कास्की पोखरा हस्तकला संघकी अध्यक्ष हिरा भट्टराईले अन्य हस्तकलाका सामान जस्तै जलकुम्भी झारबाट तयार पारिएका सामानहरु पनि आकर्षक, गुणस्तरिय, बलियो र राम्रो भएका कारण बजार माग पनि बढेको बताउँछिन् । स्थानिय स्तरमै निःशुल्क पाइने जलकुम्भी झारबाट हस्तकलाका सामाग्री बनाउन थालेपछि घरायसी काममा मात्र सिमित र निम्न आयस्तर भएका महिलाहरुले पनि सीप सिकेर स्वरोजगार सिर्जना भएको उनको भनाई छ ।


कास्की पोखरा हस्तकला संघकी अध्यक्ष हिरा भट्टराई


उनका अनुसार सीप हुने महिलाहरु सामाग्री तयार पार्छन र विक्रि गर्छन भने सीप नहुने महिलाहरुले तालबाट जलकुम्भी निकालेको समयमा पारिश्रमिक लिएर जलकुम्भीबाट आवश्यक कच्चा पदार्थ निकाल्न सहयोग गर्छन्, जसले गर्दा सीप भएका र नभएकाले पनि आयआर्जन गरेका छन् ।


पद्मावति हस्तकला उद्योगकी सञ्चालक समेत रहेकी उनी भन्छिनः“काम गर्ने इच्छाशक्ति हुने महिलाहरुलाई आर्थिक समृद्धिका लागि उद्यमशिलता भन्ने हाम्रो थिमअनुसार निःशुल्क तालिम दिएर पोख्त बनाई कच्चा पदार्थ समेत उपलव्ध गराउँछौ र, सामानहरु उत्पादन गरिसकेपछि हामीले नै सामान किन्छौ, जसले गर्दा सामान कहाँ बिक्छ भन्ने उनीहरुलाई चिन्ता पनि हुदैन् ।” स्वउद्यमी बन्न चाहाने महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर काम दिने यस संस्थाले कारागारमा रहेका महिलाहरुलाई समेत अवसर दिएको उनको भनाई छ । साथै उनले अहिले जलकुम्भीबाट गमला बनाउने काम भईरहेको जानकारी दिईन् ।

यता पोखरा महानगरपालिकाले पनि महिलाको आर्थिक विकासका लागि उपमेयरसँग महिला कार्यक्रम राखेको छ । जसमा एकल महिला, दलित, हिंसा तथा द्धन्द पिडित र आर्थिक रुपमा विपन्न महिलाहरु यस कार्यक्रममा सहभागि हुन पाउँछन् । साथै तत्कालै पनि कोभिडको बेलामा रोजगारी गुमाएका र पोखरामा भएका महिलालाई क्षमता तथा सीप विकास भनेर कार्यक्रम पनि ल्याएको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङ्ग बताउँछिन् । उनका अनुसार यो या त्यो क्षेत्र नभनिकन ताल क्षेत्रमै काम गर्ने महिला लगायत समस्यामा परेका महिलालाई पनि उक्त कार्यक्रममा समावेश गरिन्छ ।


यस्तै फेवाताल संरक्षण पूर्व आयोजना प्रमुख तथा पोखरा महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले वर्षेनी समस्याको रुपमा देखिएको जलकुम्भीलाई हटाउनको लागि पहिला १५/२० लाख खर्च हुने र एक दुई वर्ष यता जलकुम्भी हटाउने मेसिन ल्याएपछि एक डेढ लाखमै जलकुम्भी हटाउन सकिएको बताए । साथै उनले जलकुम्भी तालबाट बाहिर निकाल्ने समयमा जलकुम्भीबाट हस्तकलाका सामाग्री बनाउने संघ संस्थालाई खवर गरी आवश्यक कच्चा पदार्थ लैजान अनुरोध गरेको र जसले गर्दा महिला उद्यमीहरु जो हस्तकलाका सामाग्री बनाउँनुहुन्छ, उहाँलाई कच्चा पदार्थ निकाल्न सजिलो भएको जानकारी दिए । तर हस्तकलाका लागि चाहिने कच्चा पदार्थ महिला दिदि बहिनीहरुले लगेर सामाग्री तयार पारेर आयआर्जन गरे पनि बाँकी जलकुम्भीको व्यवस्थापनमा भने कठिन भएको बताए । उनका अनुसार जलकुम्भीको जरा र पातबाट राम्रो कम्पोष्ट मल बनाउन सकिन्छ । त्यसको उचित व्यवस्थापनको लागि महानगरले केहि समयअघि सूचना समेत निकालेको छ । तर, अहिलेसम्म यस विषयमा कुनै व्यक्ति तथा संघ संस्था नआएको उनले जानकारी दिए ।

यसरी हेर्दा एकातर्फ तालको समस्याको रुपमा रहेको जलकुम्भी झारबाट हस्तकलाका सामाग्री बनाएर बिक्रि गर्न सकिएमा महिलाको आयआर्जनमा वृद्धि हुने र यसले महिलालाई आत्मनिर्भर बनाउन सकिने विश्वास गरिएको छ । यसरी नै स्थानिय स्तरमै रोजगारी सिर्जना गर्न सकिएमा आयआर्जनका लागि महिलाहरु खाडी मुलकमा गएर दुख भोग्नुपर्ने अवस्थाको पनि अन्त्य हुने थियो । भने अर्कोतर्फ कम्पोष्ट मल बनाउन सकिएमा यसबाट पनि आयआर्जन हुनुका साथै फोहरमैला व्यवस्थापनमा पनि सहजता हुने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्