भ्रष्टाचार र अनियमितता गर्ने कसैले छुट पाउँदैनः नेता पोखरेल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार अनियमितता गर्ने जो कोहीले छुट नपाउने बताएका छन् ।

नेकपा एमाले कास्कीद्वारा दशैँतिहार लगायत चाडपर्व अवसरमा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारका साथै आर्थिक अनियमिततामा संलग्न जो कोही व्यक्ति जुनसुकै तहमा भए पनि छुट नपाउने बताए ।

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुने स्पष्ट पार्दै उहाँले देशमा अराजकता फैलाउने, सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताए ।

राष्ट्रको आवश्यकता अनुुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उनले आफूहरू कानुुनका पक्षमा रहेको उल्लेख गरे ।

हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै नेता पोखरेलले यस्ता चाडपर्वले हाम्रो सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने बताए ।

नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले लोकतन्त्रको किल्प अरु हुन नसक्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न निशारालाई चिर्दै अघि बढ्नुुपर्नेमा जोड दिए ।

नेकपा एमाले स्थायी कमिट सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको अभियानमा लाग्नुुपर्नेमा जोेड दिए ।

नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले देश र जनताका पक्षमा एकाकार भएर लाग्नुपर्ने बताउँदै अदालतमा प्रवेश भैसकेका विषयलाई सडकबाट प्रभावित गराउन खोज्नु नहुने बताए ।

नेकपा एमाले कास्कीकमा अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षता एवम् सचिव दर्शन लामाले सचालन गरेकाे कार्यक्रममा नेकपा एमालेसहित विभिन्न दलका नेता, कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, राष्ट्रसेवक, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्