थ्री स्टारलाई हराउँदै पुलिस सेमिफाइनलमा

  • ख-
  • ख+

पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।

पुलिसलाई जित दिलाउन बुद्ध बल तामाङले दुई गोल गरे । यस्तै तेज तामाङ र सौजन राईले एक एक गोल गरे ।

मकवानपुरको बागमती गोल्डकप जितेर पोखरा पुगेको थ्री स्टारविरुद्ध पुलिसले खेलको २८ औं मिनेटमा बुद्धको गोलबाट अग्रता बनाएको थियो । उनले तेजको फ्रिकिकमा वन टच गोल गरे ।

पुलिसले दोस्रो हाफमा भने थ्री स्टारविरुद्ध लगातार गोल गर्यो ।

खेलको ६७ औं मिनेटमा तेज तामाङले गोल गर्दै पुलिसको अग्रता २-० को बनाए । उनले नीर कुमार राईको पासलाई सदुपयोग गरे ।

खेलको ७० औं मिनेटमा थ्री स्टारका कप्तान अनन्त तामाङ चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा मिन धिमाल मैदान प्रवेश गरेका थिए ।

खेलको ७३ औं मिनेटमा सुमन लामाको पासमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई ४-० को जित दिलाए । उनले सुमन लामाको पासलाई सदुपयोग गरे । 

खेलको म्यान अफ दि म्याच तेज तामाङ चुनिए ।अब सात पटकको च्याम्पियन पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ ।

अफ्रिकन रुट मछिन्द्र क्लबलाई हराएर सेमिफाइनल पुगिसकेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा संकटा क्लब र एपीएफ क्लब भिड्ने छन् ।

पहिलो सेमिफाइनल खेल बुधबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्