पोखरामा प्रथम एलिट भलिबल कपको रौनक, उद्घाटन खेलमा एलिट र पिएन क्याम्पस विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको नदिपुरस्थित खेलमैदानमा प्रथम एलिट भलिबल कपको उत्साहपूर्ण सुरुवात भएको छ। एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा शुरू भएको यो प्रतियोगिताको बिहीबार गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले उद्घाटन गरे।

उद्घाटन दिन पुरुष र महिला दुवैतर्फ रोमाञ्चक खेलहरू भए। पुरुषतर्फ आयोजक एलिट भलिबल एकेडेमीले श्रीकृष्ण दल गणलाई कडा प्रतिस्पर्धामा ३-२ को सेटमा हराउँदै विजयी शुरुआत गर्‍यो। महिलातर्फ पिएन क्याम्पसले महेन्द्र माध्यमिक विद्यालयलाई ३-० को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा स्थान पक्का गर्‍यो।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, महिलातर्फ विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार पनि प्रदान गरिनेछ।

प्रतियोगिताको संयोजक तथा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक कार्यमा लगाइने बताइन्। उनका अनुसार, सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठन खर्च बेहोरिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्