सांसद कोइरालाको च्यालेञ्ज : एमाले मात्र भएर एक्लै चुनाव जितेर देखाउनुस्

  • ख-
  • ख+

गण्डकी प्रदेश सांसद दीपक कोइरालाले नेकपा एमालेका एक मन्त्रीलाई एक्लै चुनाव जितेर देखाउन चुनौति दिएका छन् । गण्डकी प्रदेश सभाको बिनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै उनले यस्तो चुनौति दिएका हुन् । संसदको आठौं अधिवेशनको पहिलो दिन गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले माओवादी सांसदहरुलाई धरातह हेरेर मात्र अभिव्यक्ति दिन चेतावनी दिएका थिए । सोहि अभिव्यक्ति प्रति ईंगित गर्दै सांसद कोइरालाले भने,‘मन्त्रीज्यूले धरातलको कुरा गर्नु भएको छ । तपाईं जुन धरातलबाट यहाँ आउनु भएको छ । तपाईं एक्लै नेकपा एमाले बनेर यो सभामा प्रवेश गर्नुस् त्यो दिन धरातलको कुरा गरौंला मन्त्रीज्यू । तपाईं एक्लै यो सभामा आउनु भएको होईन । तपाईं एक्लै एमाले मात्र भएर तपाईंको निर्वाचन क्षेत्रबाट चुनाव जितेर आउनुस् च्यालेञ्ज भयो मेरो तपाईंलाई ।’

सांसद कोइरालाले अरुले हार्छन् तर म जित्छु भनेर नभनेको भन्दै अगाडि थपे,‘म पनि आउँदिन थिएँ होला । म आउँछु भनेर घमण्ड गरेको होईन । तर तपाईंपनि कसरी जितेर आउनु हुन्छ हामीपनि हेरौंला । हामीपनि कहिंपनि जाँदैनौं ।’ एक्लाएक्लै लडेको भए एमालेले पनि र माओवादीले पनि जित्ने स्थिति नरहेको उनको आसय थियो । उनले अगाडि भने,‘हामी आज १२ संख्यामा छौं । एक्लै लडेको भए ८ आउँथ्यो होला, ७ आउँथ्यो होला वा ५ मात्रै आउँथ्यो होला । यो सब मान्छौं । तर तपाईंहरुले एक्लैले जितेको भन्ने कुरा सत्य होईन । त्यो जितमा आफू र आफ्नो पार्टीपनि योगदान छ भन्ने मात्र मेरो कुरा हो ।’

सांसद कोइरालाले बहुमत र अल्पमत छुट्याउन संसदमै टाउको गन्न आग्रह गरे । बहुमतलाई पन्छाएर अल्पमतले सरकार चलाईरहेको भन्दै उनले भने,‘प्रदेश प्रमुखले संविधानले दिएको प्रावधान विपरित दुई वा दुई भन्दा बढी दलहरुद्वारा प्रस्तावित मुख्यमन्त्रीलाई नियुक्त नगरेर अर्कैलाई गर्नुभयो । केलाई बहुमत भन्ने ? केलाई अल्पमत भन्ने ? सत्ता पक्षमा कति छन् सदस्य, अनि प्रतिपक्षमा कति छन् ? टाउको गनेर हेरौं ।’

सांसद कोइरालाले बहुमत नभएपनि जसरीपनि सत्तामा रहनुपर्छ भन्ने मनोदशा एमालेमा रहेको टिप्पणी गरे । म नै लोकतन्त्र, म नै गणतन्त्र र म नै संविधान भन्ने मनोदशा एमाले नेतामा रहेको भन्दै उनले भने,‘जे गरेपनि सत्तामा बस्नु पर्छ । जे भनेपनि मै हो । मबाहेक अरु सबै शून्य हुन् । मबाहेक पृथ्वी घुम्दैन । लोकतन्त्र भनेको पनि मै हो । गणतन्त्रपनि मै हो । संख्या नपुगेपनि बहुमत मै हो । नैतिकता पनि मेरो मात्रै छ । ईमान्दारिता पनि मसँग मात्रै छ । अरु सब प्रजाहरु हुन् भन्ने मनोदशा व्याप्त छ ।

तर आफूहरु आफैले लडेर ल्याएको लोकतन्त्र बचाउन जस्तोसुकै लडाईं लड्नपनि तयार रहेको कोइरालाले बताए । उनले भने,‘लेकतन्त्रको पक्षमा बोलिन्छ, प्रजातन्त्रको पक्षमा बोलिन्छ र जनताको पक्षमा बोलिन्छ । यसको बारेमा बोल्दा कारवाही भोग्नुपर्छ भनेपनि बोल्न छाडिन्न ।’ उनले सभामुखलाई तथानाम गाली गर्ने एमाले सांसदलाईपनि सभाको मर्यादा कायम राख्न सचेत गराए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्