पाँच दलका शीर्ष नेताको बैठकः ओली सरकारविरुद्ध प्रतिरोध

  • ख-
  • ख+

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गर्ने क्रममा गठित पाँच दलीय विपक्षी गठबन्धनले ओली सरकारविरुद्ध प्रतिरोध गर्ने निर्णय गरेको छ । 

ओली सरकार एकपछि अर्को धाँधली र भ्रष्ट कार्यमा व्यस्त रहेको निचोड निकाल्दै बैठकले अब प्रतिरोध गर्नुको विकल्प नरहेकोसमेत ठहर गरेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार साँझ बसेको बैठकमा शीर्ष नेताहरुबीच गठबन्धनमा थप विश्वासको वातावरण बनाएर अघि बढ्नुपर्नेबारे समेत छलफल भएको हो ।  

बैठकले संविधानविपरीत चलिरहेको अवैधानिक सरकारले जनतामा असर गर्ने प्रकृतिका एकपछि अर्का धाँधलीयुक्त र भ्रष्ट कार्य गरिरहेको निचोड निकालेको हो । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थाको रक्षाका निम्ति एकताबद्ध भएर संघर्ष गर्ने निष्कर्षमा पाँच दल पुगेको बताए । 

काम चलाउ र अवैधानिक धारबाट खडा भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । जसले दीर्घकालीन असर गर्ने र जनताको प्रत्यक्ष जीवनशैलीमा असर पुर्याउने प्रकृतिका नीति र योजना आएको ठहर पनि विपक्षी गठबन्धनको छ । 

 बैठकले सरकारका पछिल्लो गतिविधिको गम्भीर समीक्षा र खण्डन गरेको छ । चुरेको दोहन गर्नेदेखि कोभिड महामारी नियन्त्रणमा सरकारको अकर्मण्यताले यो कतातिर गइरहेको स्पष्ट हुने भन्दै नेताहरुले अब संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षा गर्ने कुरा मुख्य भएको निष्कर्षसहित एकतावद्ध भएर अगाडि बढ्ने बताएका छन् । 

बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अशोककुमार राई र महेन्द्र राय यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिइन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्