पोखरा महानगरको त्रिवर्षीय आवधिक योजनाको तयारी

  • ख-
  • ख+

पोखरा ।

पोखरा महानगरपालिका शहरी योजना आयोगले तयार गरेको त्रिवर्षीय योजना तयारी माथि छलफल गरिएको छ । महानगरले  मंगलबार सरोकारवाला क्षेत्रका योजनाविद्हरुको  उपस्थितिमा योजना माथि विषयगत छलफल गराएको हो ।

योजनामा महानगरपालिकाको द्रुत र दिगो विकासका लागि आर्थिक सामाजिक, लोकतन्त्र तथा सुशासन, भौतिक पूर्वाधार जस्ता विषयहरु समेटेर त्रिवर्षिय योजना (२०७८/७९–२०८०/८१) तयार गरिएको महानगर शहरी योजना आयोगका  उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार  योजनाले समाजवाद उन्मुख समाजको निर्माणको लागि पोखराको आर्थिक र सामाजिक विकासको मोडल तयार गरेको छ ।

नेपालको संविधान २०७२ , दिगो विकास लक्ष्य २०३० लाई पोखरा महानगरपालिकाको सन्दर्भमा स्थानीयकण, संघीय सरकारको भिजन २१००, पन्ध्रौ पञ्च वर्षिय योजना, गण्डकी प्रदेशको प्रथम पञ्च वर्षीय योजनालाई आधार मानेर पोखरा महानगरले तिन वर्षीय योजना तयार गरिएको उनको भनाइ छ ।

महानगरका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले ’’सुखी नेपाली, समृद्ध नेपाल’मा आधारित रहेर पोखरा महानगरको त्रिवर्षीय योजना तयार गरेको र यस योजनाले आगामी विकासका कार्यक्रमलाई सहयोग पुग्ने लक्ष्य लिएको बताईन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले महानगर नगरवासीको आशा र भरोसा अनि विकासको केन्द्रविन्दु भएको जनाउँदै योजनाको प्राथमिकरणमा विशेष ध्यान दिएर बलियो दस्तावेज बनाउन कार्यशाला गोष्ठि महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार राष्ट्रिय योजना आयोगले तयार गरेको मार्गनिर्देशन अनुसार ३५ वटा योजनाका विषयहरु र त्यसका विषयगत क्षेत्रहरुलाई समेटेर तयार गरिएको छ ।

गोष्ठिमा पर्यटन अध्येता श्रीकान्त खतिवडा, सुदृढ नेपाल परियोजनाका सहजकर्ता दामोदर गिरि , परियोजनाका सल्लाहकार कृष्ण ज्ञवाली लगायतले सम्बन्धित विषयबस्तु माथि प्रस्तुतीकरण राखेका थिए ।

कार्यक्रममा महानगरका सम्बन्धित विषय महाशाखा प्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्य विज्ञटोली बीच विषयगत रुपमा छलफल गराएर सुझाव संकलन गरिएको थियो । 

आयोगले तयार गरेको योजनालाई अन्तिम स्वरुप प्रदान गर्न उपमेयरको संयोजकत्वममा गठित योजना सहजीकरण समितिले  अध्ययन गरी सुझाव समेत पेश गरेको थियो  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्