प्रचण्ड–नेपाल संवाद : एकताको सन्देशका लागि ओलीबाटै भरपर्दो ठोस प्रस्ताव आवश्यक

  • ख-
  • ख+

काठमाडाैं, २२ वैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले विगतका कमजोरी सच्याउँदै पार्टी र सरकारलाई विधिसम्मत सञ्चालनका लागि प्रधानमन्त्री केपी ओलीबाटै भरपर्दो ठोस प्रस्ताव आउनुपर्ने निष्कर्ष निकालेका छन् । पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्दै सहमतिका आधारमा अगाडि बढ्ने शनिबारको सचिवालय बैठकको निर्णयपछि बालकुमारीमा आइतबारको भेटवार्तामा दुई नेताले त्यस्तो निष्कर्ष निकालेका हुन् ।

कमी–कमजोरीको आत्मालोचनापछि पार्टीलाई सहमति र एकतासहित अघि बढाउने सैद्धान्तिक हिसाबले सचिवालयले सही निर्णय गरे पनि व्यवहारमा अनुवाद हुने गरी प्रधानमन्त्री ओलीले नै ठोस प्रस्ताव ल्याउनुपर्नेमा दुवै नेताको सहमति छ । २५ वैशाखमा बस्ने स्थायी कमिटीका लागि अघिल्लो दिन सचिवालय बैठक बोलाइएको सन्दर्भमा प्रचण्ड–नेपालले भरपर्दो ठोस प्रस्ताव खोजेका हुन् । विगतमा दम्भ र कठोर रूपमा प्रस्तुत हुँदै आएका ओली शनिबारको बैठकसम्म आउँदा कमजोरी सच्च्याउने ठाउँमा पुगेको र यो पार्टीलाई विधि–पद्धतिमा चलाउन सुरुवाती सकारात्मक कदम भएको दुई नेताको विश्लेषण छ ।

सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको थियो । बुधबारको बैठकमा प्रधानमन्त्री र पार्टीअध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका प्रचण्ड र नेपाल शनिबारको बैठकमा प्रधानमन्त्रीले आत्मालोचित हुँदै सहमतिमा अगाडि बढ्ने प्रस्ताव अगाडि सारेपछि नेकपा विवाद ‘युद्धविराम’को अवस्थामा टुंगिएको थियो ।

त्यसपछि आगामी बैठकको रणनीतिमा जुटेका प्रचण्ड र नेपालले आइतबार आफूनिटक नेताहरूसँग परामर्श गरेर भेटघाट गरेका थिए । ‘सहमति, संस्थागत निर्णय र एकतासहित पार्टीलाई अघि बढाउने सचिवालयले सही निर्णय गरेको छ, तर विगतका कमजोरी सच्च्याएर विधिका आधारमा विनाभेदभाव नेता–कार्यकर्तालाई जिम्मेवारी दिने सम्बन्धमा कार्यविधि, आचारसंहितासहितको दस्ताबेज आवश्यक छ भन्ने कुरामा उहाँहरूबीच समझदारी भएको छ,’ नेपालनिकट एक स्थायी समिति सदस्यले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि प्रधानमन्त्री ओलीले नै प्रतिबद्धताहरू व्यवहारमा अनुवाद हुने गरी स्थायी समितिअघि बस्ने सचिवालय बैठकमा ठोस प्रस्ताव आउनुपर्छ भन्ने निष्कर्ष हो ।’ शुराेजंग पाण्डेले नयाँ पत्रिका दैनिकमा खबर लेखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्