शुक्रबार कास्की लोकदोहोरी व्यावसायिक समितिको प्रथम अधिवेशन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की लोकदोहोरी व्यावसायिक समितिको प्रथम अधिवेशन यहि असोज ९ गते शुकरबार पोखराको अमरसिंहस्थित सफल ब्याङ्क्वेटमा हुने भएको छ।

‎कास्कीमा लोकदोहोरी तथा लोकसंगीत क्षेत्रमा आबद्ध व्यवसायीहरूको साझा तथा छाता संगठनका रूपमा स्थापित समितिले अधिवेशनमार्फत आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने बुधबार आयाेजित पत्रकार सम्मेलनमार्फत जनाएकाे छ।

‎लोकदोहोरी व्यवसायसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आबद्ध व्यवसायीलाई संगठित गर्दै उनीहरूको हकहित, व्यावसायिक अधिकार, पेशागत मर्यादा तथा लोकसंगीत क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले समिति स्थापना गरिएको समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । उनका अनुसार कास्कीका विभिन्न स्थानमा सञ्चालित लोकदोहोरी व्यवसायी तथा सम्बन्धित व्यावसायिक संस्थालाई एउटै छातामुनि समेट्दै आपसी सहकार्य, समन्वय र व्यावसायिक एकता कायम गर्नु समितिको मुख्य उद्देश्य रहेकाे छ ।

समितिको २०८३ साउन १५ गते होमबहादुर गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो। हाल समितिमा १८ वटा दोहोरी साँझ आबद्ध रहेका छन् भने ती व्यवसायबाट करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको समितिले जनाएको छ।

‎समितिका सचिव तेजबहादुर चालिसेले प्रथम अधिवेशनले लोकदोहोरी व्यवसायीका साझा समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने नीति अघि बढाउने बताए।

‎उपाध्यक्ष नौजंग गुरुङले लोकदोहोरी व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउँदै कलाकार, व्यवसायी तथा यस क्षेत्रमा आबद्ध सम्पूर्ण पक्षबीच सहकार्य र समन्वयको वातावरण निर्माण गर्न समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्