दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानिखोलामा घरायसी विवादका क्रममा बन्चरो प्रहार हुँदा श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ भने ६ वर्षीय छोरा गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ९:३५ बजे ३८ वर्षीय अम्मर सलामी मगरले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिष्मा सलामीमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका थिए।
बन्चरो प्रहारबाट घाइते भएका चारै जनालाई उपचारका लागि दुल्लु नगर अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिष्मालाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते मनिषा र ६ वर्षीय मिलनलाई थप उपचारका लागि बिहान ११:५५ बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको थियो। उपचारका क्रममा दिउँसो २:१० बजे चिकित्सकले मनिषालाई मृत घोषणा गरेका थिए। मिलनको अवस्था भने गम्भीर रहेको जनाइएको छ।
घटनाबारे स्थानीयले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए। सूचनापछि घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न अम्मर सलामी मगरलाई बन्चरोसहित नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तस्वीर : नेपाल पुलिस









