पोखरा । पोखरा महानगरपालिका–२५ स्थित काव्यनगरी हेमजामा आयोजित दोस्रो संस्करणको ‘हेमजा साहित्य महोत्सव’ सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै हेमजाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको दुईदिने महोत्सव आइतबार सम्पन्न भएको हो ।
महोत्सवको समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि कामको परिकल्पना गरी सार्वजनिक रूपमा घोषणा गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्नैपर्ने बताए । हेमजालाई काव्यनगरी घोषणा गरिसकेपछि सोहीअनुसार साहित्यिक गतिविधि र विकासका योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले पोखरा जसरी हेर्दै गयो, त्यहीअनुसार देखिने उल्लेख गर्दै साहित्य, कला र संस्कृतिको विकास पनि भौतिक पूर्वाधार निर्माणजत्तिकै महत्वपूर्ण रहेको बताए । सडक, खानेपानी र अन्य पूर्वाधार विकाससँगै समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन साहित्य तथा सिर्जनात्मक गतिविधिको प्रवर्द्धन गर्नुपर्ने उनले बताए ।
‘कुनै कुरा गर्छु भनेर लागिसकेपछि त्यो काम नगरी सुखै छैन । सार्वजनिक रूपमा हेमजालाई काव्यनगरी घोषणा गरिसकेपछि अब हेमजा साहित्य प्रतिष्ठानलाई काव्य र साहित्यको वरिपरि रहेर काम नगरी सुखै छैन,’ आचार्यले भने, ‘काव्यनगरीलाई सुशोभित बनाउन तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुहोस् । यसमा महानगरपालिका, स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहनेछ ।’
उनले पोखरा प्रज्ञा प्रतिष्ठानमार्फत पनि कला, साहित्य र संस्कृतिको विकासमा महानगरले काम गरिरहेको उल्लेख गर्दै प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साहित्यले समाजलाई सही दिशामा डोर्याउने र लेखक तथा स्रष्टाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।
अहिले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेशिने युवाको प्रवृत्ति रोक्न साहित्यप्रेमी तथा स्रष्टाहरूले पनि भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । युवालाई आफ्नै समाज, भाषा, संस्कृति र सिर्जनासँग जोड्दै स्वदेशमै सम्भावना खोज्ने वातावरण निर्माण गर्न साहित्यिक क्षेत्र सक्रिय हुनुपर्ने उनको धारणा थियो । साहित्य र स्रष्टाले समाजमा सकारात्मक सोच विकास गर्न योगदान पुर्याउनुपर्ने बताउँदै उनले स्रष्टाहरूले सफलता प्राप्त गर्ने र समाजले उनीहरूको योगदानको सम्मान गर्ने वातावरण बन्नुपर्ने बताए ।
पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले महोत्सवले काव्यनगरी हेमजासहित समग्र पोखराको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुर्याएको बताए । हेमजालाई काव्यनगरी घोषणा गरिनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले यसको मर्मअनुसार साहित्यिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखे । साहित्य र पर्यटनलाई सँगसँगै जोडेर अघि बढ्न सकिने बताउँदै उनले कला तथा साहित्यको प्रवर्द्धनमा वडाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
महोत्सव निर्देशक शंकरमणि त्रिपाठी (छन्दमणि) ले पहिलो संस्करणबाटै हेमजालाई काव्यनगरीका रूपमा चिनाउने अभियान सुरु भएको स्मरण गर्दै महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए । उनले साहित्यिक गतिविधिका माध्यमबाट हेमजाको पहिचानलाई थप स्थापित गर्न सकिने धारणा राखे ।
प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले हेमजाको साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । साहित्य, कला, संस्कृति र सिर्जनालाई एउटै थलोमा जोड्दै हेमजाको सामाजिक गौरव र सम्भावनालाई उजागर गर्ने अभियानका रूपमा महोत्सवलाई अघि बढाइएको उनको भनाइ थियो ।
प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले साहित्यिक गतिविधिसँगै हेमजाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई उजागर गर्न महोत्सव सफल भएको बताए । हेमजाको माटोमा सिर्जनाका फूल फुलाउने, साहित्यका स्वर गुञ्जाउने र काव्यनगरीको पहिचान देश–विदेशसम्म फैलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले यसले हेमजाको साहित्यिक गरिमा, सामाजिक गौरव र सिर्जनात्मक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुर्याएको बताए ।
महोत्सव संयोजक कृष्णप्रसाद पौडेलले समग्र हेमजाको साहित्यिक पहिचान, सामाजिक गौरव र सांस्कृतिक समृद्धिसँग जोडिएको साझा अभियानका रूपमा महोत्सव आयोजना गरिएको बताए । सरोकारवाला सबैको साथ र सहयोगले महोत्सव सफल भएको उनको भनाइ थियो ।
दुई दिनसम्म सञ्चालन भएको महोत्सवमा कविता, आख्यान, गैरआख्यान, गजल, मुक्तक, लघुकथा, साहित्यिक विमर्श, काव्यवाचन तथा पुस्तकमाथि परिचर्चालगायत कार्यक्रम समावेश गरिएको थियो । पहिलो दिन ‘मढीमा सिर्जना : काव्यनगरी दर्शन’ कार्यक्रमबाट महोत्सवको सुरुवात गरिएको थियो । त्यसपछि कविता, आख्यान र गैरआख्यानका विभिन्न पक्षमा विमर्श गरिएको थियो । ‘काव्यनगरी हेमजा : साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेली : लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेमजा’ शीर्षकमा समेत परिचर्चा गरिएको थियो ।
महोत्सवको दोस्रो दिन ‘कविता : अनुभूति र अभिव्यक्ति’ विषयमा साहित्यिक विमर्श तथा काव्यनगरी दर्शन कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न स्रष्टाले कविता, मुक्तक, लघुकथा र गजल वाचन गरेका थिए । रामजीप्रसाद आचार्यले मुक्तक, शिव त्रिपाठीले कविता, कल्याण पन्तले लघुकथा र बाला अधिकारी (आवाज शर्मा) ले गजल प्रस्तुत गरेका थिए । काव्यनगरी दर्शन कार्यक्रमलाई साहित्यकार वसन्त चालिसेले सहजीकरण गरेका थिए । देशका विभिन्न भागबाट आएका साहित्यकार तथा कलाकारले आफ्ना सिर्जना र प्रस्तुतिमार्फत महोत्सवलाई साहित्यिक र सांस्कृतिक रौनक प्रदान गरेका थिए ।
महोत्सवमा कलाकार ऋषि अधिकारी, विनोद बानियाँ, नीता आचार्य, रजनी रिदम, सुनिल गायकलगायतले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । समापन समारोहमा पनि कलाकार ऋषि अधिकारीले प्रस्तुति राखेका थिए ।
महोत्सवको पहिलो दिन कवि एवं भाषाशास्त्री मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिएको थियो । हेमजामा जन्मिएर नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका उपाध्यायको योगदानको कदर गर्दै अभिनन्दन ग्रन्थ प्रकाशन गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए । यसअघि महोत्सवको पहिलो संस्करणमा उनलाई रथारोहणसहित अभिनन्दन गरिएको थियो । समापनका अवसरमा उपाध्यायको अभिनन्दन ग्रन्थसँगै ‘हिमशिखर’को २७औँ अङ्क पनि लोकार्पण गरिएको थियो ।
महोत्सवका अवसरमा साहित्यकार धर्मराज पौडेल (अल्पायु), शशी अधिकारी तथा सामाजिक अभियन्ता वसन्तराज त्रिपाठी (अञ्जान), शिवप्रसाद पोखरेल, उमा पौडेल भुर्तेल र दीपक थापालाई सम्मान गरिएको थियो । त्यस्तै, महोत्सव सफल बनाउन सहयोग पुर्याउने व्यक्ति तथा संघसंस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो । सम्मानित तथा प्रशंसापत्र प्राप्त गर्नेमा टोल विकास समन्वय हेमजा, महिला सञ्जाल हेमजा, अन्नपूर्ण इको भिलेज, देवीस्थान भजन समूह, मातृकेश्वर भजन समूह, माछापुच्छ्रे सेवा समाज, दीननाथ त्रिपाठीलगायत रहेका थिए ।
साहित्यिक गतिविधिसँगै हेमजाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजित महोत्सवले काव्यनगरी हेमजाको साहित्यिक पहिचानलाई थप विस्तार गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा सम्पन्न समापन समारोहमा महोत्सव संयोजक कृष्णप्रसाद पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कोविदशरण उपाध्याय र उपमहासचिव छन्दिका त्रिपाठीले संयुक्त रूपमा गरेका थिए ।









