भक्तपुरका हरिराम सुवाल बने पिएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष


काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा गर्ने हो भने बोल्ने धेरै तर शैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको पाइन्छ । यस्तो अवस्थामा भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने विद्यावारिधि गरेर विद्यावारिधि गर्ने नेपालकै पहिलो वडाध्यक्षको रुपमा रेकर्ड राख्न सफल भएका छन् ।

त्यतिमात्रै नभई डा.सुवाल अहिलेसम्मकै सबैभन्दा बढी पढ्ने वडाध्यक्षको रुपमा समेत दरिएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै ३ वटा विषयमा प्रविणता प्रमाणपत्र तह, ३ वटा विषयमा स्नातक र २ वटा विषयमा स्नातकोत्तर उतिर्ण गरेका छन् ।

वडाध्यक्ष डा.सुवालले केही दिनअघि त्रिभुवन विश्व विद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्वन्धि ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए ।

२०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमा डा.सुवाल नेपाल मजदूर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ बाट वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए । उनी सो पार्टीको ६ नं वडाको वडासमिति सचिवको साथै नेमकिपाको जनवर्गीयसंगठन ‘नेपाल क्रान्तिकारी किसान संगठन’को केन्द्रीय सचिव पनि हुन । विद्यावारिधि उतिर्ण गरेसंगै डा.सुवाल नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मा धेरैविषय अध्ययन गर्ने नेता समेत बनेका छन् ।

भक्तपुरको ब्यासीस्थित बासु माविबाट २०५० सालमा प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेका चोछें भक्तपुरका वडाध्यक्ष डा.सुवालले विद्यावारिधि मात्रै गरेका छैनन, उनले पोलिटिकल साइन्स र इतिहास गरि दुईवटा विषयमा स्नातकोत्तर गरेका छन् । साथै शिक्षा, कानून र मानवीकि गरि तीनवटा विषयमा स्नातक तथा मानवीकि, वाणिज्य र कानुन गरि तीनवटा विषयमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका छन् । डा.सुवाल काठमाडौं मल्टिपल कलेज मरुहिटीबाट कानुनमा प्रमाणपत्र तहमा सर्वोत्कृष्ट भई कलेज टपर समेत भएका थिए ।

बाबु कृष्णनारायण र आमा विष्णु सुवालकादुई छोरामध्ये कान्छो छोराको रुपमा २०३४ साल मंसीर ९ गते चोछें भक्तपुरमा जन्मेका डा.सुवालका ३ दिदीवहिनी छन् ।

नेपाल मजदूर किसान पार्टीले भक्तपुरमा लागु गरेको ‘एक घर, एक स्नातक’ को अवधारणा अनुसार पछिल्लो समयमा भक्तपुर नगरक्षेत्रमा कम्तिमा स्नातक तह उतिर्ण गर्ने शिक्षित युवाहरुको संख्या बढीरहेको छ भने उच्च शिक्षा (स्नाकोत्तर तह) अध्ययन गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढीरहेको छ ।


प्रतिक्रिया दिनुहोस्