पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले लेखापढी कानून व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायि हुन आवश्यक रहेको बताएका छन् । नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति कास्कीको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुले जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

उनले लेखापढी कानून व्यवसायीहरुले जनतालाई दिने सुविधा पारदर्शी हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन्। ‘लेखापढी कानून व्यवसायीहरु निष्ठावान भएको खण्डमा जनताले प्राप्त गर्ने सुविधा पारदर्शी हुन्छ’,उनले भन्नुभने,‘जनता पहिले सिधै लेखापढी कानून व्यवसायीहरुसँग ठोकिने हुँदा आर्थिक लोभ बिनानै सेवा गर्नुपर्ने आवश्यकता छ ।’

मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुका पिरमर्कासँग आफु नजिक भएकाले सोहि बमोजिमको नीति निर्माणमा समेत प्रदेश सरकारले ध्यान पुर्याउने विश्वास दिलाए । उनले भने, ‘तपाईहरुको अप्ठ्याराहरुसँग म नजिक छु । यहाँहरुको पेशागत सुरक्षाका लागि प्रदेशमा सहज कानून बनाउन प्रतिबद्ध छु ।’

मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुले गैरकानूनी व्यवसायी हुन् भन्ने भावनालाई चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भू— सेवा केन्द्रका नाममा भएका गलत निर्णयहरुलाई सच्याउँदै व्यवसायीहरुका हित बमोजिम काम गर्ने प्रणका साथ आफु लाग्ने बताए। उनले व्यवसायीहरुलाई नागरिकलाई सरल ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिए।

प्रदेशले विगत चार वर्षमा ५० वटा ऐन बनाएको जानकारी गराउँदै मन्त्री थापाले आफु मन्त्री भएर आइसकेपछि ऐनको संशोधन र कार्यान्वयनमा ध्यान दिएको बताए । कानून निर्माणमा प्रदेश सरकारमा देखिएका समस्याहरुलाई समाधान गर्दै नागरिकको हित बमोजिम नीति बनाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 161 Viewed