देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन: प्रचण्ड

  • ख-
  • ख+

पोखरा ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन गरिएको बताए । पोखरामा गठबन्धनको चुनावी आम सभालाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, संघीयताको रक्षा, समावेशी समानुपातिकको रक्षाका लागि गठबन्धनको जन्म भएको बताएका हुन् ।

प्रचण्डले भने, “संविधान निर्माण गरिसकेपछि र निर्वाचन भएर नयाँ परिस्थिति बनिसकेपछि गत साल ठूलो दुर्घटनामा पर्ने देखा पर्यो । संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास भयो । आम नेपाली जनताको निम्ती लामो समय देखि संघर्ष र बलिदानका थुप्रै किर्तिमानहरु कायम गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन संलग्न सहभागी सम्पूर्ण जनताका लागि दुर्भाग्य कुरा थियो । त्यसैले मुलुकको रक्षाका लागि गठबन्धनको आवश्यक पर्यो ।”

निरकुंशता, तानाशाही र अराजक भूमरीबाट देशलाई बचाउन पाँच दलिय गठबन्धनको उदय भएको उनले बताए । प्रचण्डले गठबन्धन जन्मिएको दिनदेखि नै अवसरवादीहरुले भत्काउन कोसिस गरेको आरोप लगाए । “अहिलेको निर्वाचनमा पनि संविधान, राष्ट्र र गणतन्त्रको रक्षाका लागि अगाडि बढेको गठबन्धनलाई विभाजित गर्ने षडयन्त्र चलिरहेको छ । हामी धैरे अप्ठयाराहरु सँग जुधेर गठबन्धनलाई अगाडि बढाउने बाटो तर्फ अग्रसर छौं । स्थानीय तहको निर्वाचनमा मात्रै नभई प्रदेश र संघीय निर्वाचन सम्म गठबन्धनलाई लैजानेछौं ।”, उनले भने ।

नेपाली जनताको भविष्य प्रति इमानदारी भएर नै गठबन्धन अगाडि बढेको उनले बताए । स्थानीय तहको निर्वाचनले अग्रमन र प्रतिगमन विरुद्धको लडाईलाई प्रष्ट पार्ने भनाई उनको छ ।

७० वर्षको लामो संघर्षबाट प्राप्त भएको राजनीतिक र ऐतिहासिक उपलब्धिलाई बचाउन पोखरा महानगरपालिकामा गठबन्धनबाट अघि सारिएका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाटलाई जिताउन प्रचण्डले आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्