वस्तुगत संघहरुलाई भेट्दै प्रजापति समूह, ‘बालहठ’का कारण चुनाव भएको रविन्सन प्रजुको दावी

  • ख-
  • ख+

पोखरा । पवनकुमार प्रजापति समूहले विभिन्न व्यवसायिक संगठनहरुसँग भेटघाट शुरु गरेको छ । बस्तुगत व्यवसायीहरुको संगठनमा आबद्ध व्यवसायीहरुलाई एकमुस्ट रुपमा भेटेर समूहले आफ्नो पक्षमा मत मागिरहेको छ । सोमबार भाँडा व्यवसायी संघ पोखरामा आबद्ध व्यवसायीहरुलाई संस्थागत रुपमा भेटेर पवनकुमार प्रजापति समूहले आफ्नो पक्षमा मत माग्यो ।

भेटको क्रममा संघमा आबद्ध उद्योगी व्यवसायीहरुलाई संस्थागत रुपमै सहयोग गर्ने वचन समेत दिएको थियो । भाँडा व्यवसायी संघ पोखराका अध्यक्ष कविन्द्रमान पालिखेले संस्थागत रुपमै अध्यक्षमा पवनकुमार प्रजापति र उनको समूहलाई संघले सघाउने प्रस्ट पारे । लामो समयदेखि अनुभव बटुल्दै क्रमैसँग नेतृत्वको दाबी गर्न आउनुभएका प्रजापतिलाई नै हाम्रो संघले समर्थन गर्ने कुरा म जानकारी गराउन चाहन्छु । एक कार्यक्रमका बीच पालिखेले भने सहि नेतृत्व र सबल नेतृत्वलाई हामीले समर्थन नगर्ने कुरै भएन । उनले अन्य वस्तुगत संघसंस्थालाई पनि पवनकुमार प्रजापति र उनको समूहलाई सहयोग गरि जिताउन उनले आग्रह गरे ।

कार्यक्रमका बीच भाँडा उद्योगी समेत रहेका भााँडा व्यवसायी संघका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पुर्व वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले पवनकुमार प्रजापति निर्विरोध अध्यक्ष हुनुपर्ने व्यक्ति भएको दाबी गरे । हामीले थुप्रै कोशिष गर्दा पनि केही व्यक्तिहरुको अस्वभाविक महत्वकांक्षा र बालहठका कारण पवनकुमार प्रजापतिलाई निर्विरोध अध्यक्ष बनाउन सकेनौँ । तैपनि हामी मतदान प्रकृयामा गएर बालहठलाई हराउन जरुरी छ । स्वभाविक रुपमा अध्यक्ष प्रजापति नै भएको बताउँदै उनकै पक्षमा व्यवसायीहरु एकजुट हुन उनले आह्वान गरे ।

कार्यक्रमका बीच पवनकुमार प्रजापति र उनको समूहले आफ्ना कार्ययोजना सुनाउँदै उद्योगी व्यवसायीहरुलाई मत मागेका थिए ।

यसैगरि मंगलबार पवनकुमार प्रजापति र उनको समूह सिद्घार्थचोक, बगालेटोल, आलुमाईला चोक, ह्वाईट हाउस पार्टी प्यालेस हुँदै सृजनाचोकसम्म घरदैलो गरि मत मागेका थिए । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ । महाधिवेशनमा पवनकुमार प्रजापति प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्