निर्वाचन प्रचार तथा मतदाता शिक्षाका उत्कृष्ट टिकटक बनाउनेलाई आयाेगले ५० हजार रुपैयाँ दिने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित रहेर उत्कृष्ट टिकटक भिडियाे बनाउनेलाई निर्वाचन आयाेगले ५० हजार रुपैयाँ पुरस्कार दिने भएकाे छ ।

प्राप्त  भिडियाेमध्ये उत्कृष्ट ५ भिडियोलाई आयोगको तर्फबाट जनही रु. ५० हजारका दरले पुरस्कृत गर्ने आयाेगले जनाएकाे छ ।

आयाेगका अनुसार १ मिनेटसम्मको टिकटक भिडियो बनाई यही कात्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगानमा tiktok@ecn.gov.np मा पठाउनुपर्नेछ ।

टिकटक भिडियाे बनाउनका लागि आयाेगका शर्तहरु यस्ता छन् :

१. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ ।

२. भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।

३. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।

४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।

५. कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटा सम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको पाँचवटा सम्म भिडियो स्वीकार गरिनेछ ।

६. प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यबाट प्रचार प्रसार र प्रशारणको निम्ति उपयोग गर्नेछ ।

७. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन ।

८. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ ।

९. उत्कृष्ट भिडियोहरू मध्ये छनोट समितिको सिफारिसमा रु.५०,०००।– (पचास हजार) पुरस्कार र प्रशंसापत्र प्रदान गरिनेछ ।

१०. भिडियो २० सेकेण्ड देखि १ मिनेट सम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।

११. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटिक निर्माण गर्न सकिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्