समाजवादीका सचिव नेपाली एमालेमै फर्किए,’नेकपा एस भन्ने पार्टी अब नेपालमै रहन्न’– नेपाली

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् । उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिवार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीलाई एमालेमा स्वागत गरिएको हो ।

विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

नेकपा (एस) का केन्द्रीय प्रतिनिधि सदस्यसमेत रहेका नेपालीले अब एस भन्ने पार्टी नेपालमै नरहने ठोकुवा गरे । ’माधव नेपाल र झलनाथ खनालको नाटक मञ्चनका पात्र म पनि भएँ । १ वर्षमा धेरै बुझेँ, भोगेँ । अब त्यो पार्टी रहन्नँ । नेपालमै रहन्न । जो गठबन्धनबाट जित्छन्, तिनीहरू मात्र रहनेछन् ।’ उनले थपे–’आज म एक्लै आएको छैन । हजारौँ फर्किनेछन् । विधि पद्धतिका कुरा गर्ने, आफै सांगठनिक पद्धतिमा नचल्ने त्यस्तो पार्टीमा कोहि बस्नेछैनन् । एमाले सक्न दिने छैनौँ ।’

हिजोको सहयोद्धासँग एकसाथ पार्टी मजबुत बनाउन लागि पर्ने भन्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नै नेकपा एमाले रहेको बताए ।

एमाले कास्की ईञ्चार्ज एवं केन्द्रीय सदस्य कृष्ण थापाले मुक्ति आन्दोलनका नेता नेपाली पुनः घर फर्किँदा आफू हर्षित बनेको बताउँदै बाहिर रहेका सबैका लागि ढोका खुला रहेको र विशाल हृदयले स्वागतका लागि आतुर रहेको बताए । सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउनुपर्ने पनि थापाले बताए ।

कास्की क्षेत्र नं. २ (क) का उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य भीम कार्कीले एमालेको महत्वपूर्ण खम्बा नेपालीलाई स्वागत गर्दै एउटा समुदायलाई पछाडि पारेर समाज र देश विकास सम्भव नभएकाले विगतका विभेदको क्षतिपूर्तिसहित सँगसँगै हातेमालो गरेर एमाले अघि बढिरहेको बताए ।

कास्की क्षेत्र नं. २ (ख) का उम्मेदवार मीना गुरूङले उत्पीडित दलित उत्पीडित वर्गको पार्टी नेकपा एमाले भएकाले पार्टीमा उत्पीडित वर्गको सहभागिता अपरहार्य रहेको बताइन् ।

कार्यक्रममा संघीय समानुपातिक उम्मेद्वार नन्दकला नेपाली क्षेत्रका समानुपातिक उम्मेदवार डा. छममाया पुन, एमाले कास्की सचिव बैन बहादुर अधिकारी क्षेत्री, मुक्ति समाज केन्द्रीय सचिव धनबहादुर नेपाली, जिल्ला सचिवालय सदस्य भेषराज बराललगायतले बोलेका थिए ।

निर्वाचन परिचालन उपसमिति क्षेत्रीय संयोजक मनबुजा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य किसान परियारले स्वागत एवं पार्टी प्रदेश कमिटि सदस्य बलराम गायकले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्