हेमजामा दुई दिने मनोसामाजिक सु–स्वास्थ्य एवं जीवन संरक्षण तालिम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पोखरा २५ हेमजामा दुई दिने मनोसामाजिक सु–स्वास्थ्य एवं जीवन संरक्षण (गेट किप्पर) तालिम दिईएको छ । आईतवार र सोमवार गरि दुई दिनसम्म चलेको तालिममा नेपालका सन्दर्भमा आत्महत्याको परिवेश, आत्महानी र आत्महत्याको लागि जोखिम समूह, आत्महानी र आत्महत्याको कारण तथा व्यवहार बढाउने तत्वहरु, आत्महत्याको जोखिम र खतराको सूचकहरु, आत्महत्याका सम्भावित सूचकहरु,आत्महत्याको जोखिमको न्यूनिकरण गर्न सक्ने सुरक्षात्मक उपायहरु, आत्महत्या सम्वन्धी भ्रम तथा यथार्थहरु, साथै आपतकालीन प्रेषण कहाँ र कसरी गर्ने, सहयोगात्मक हेरचाह लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।

तालिममा मनोविद विजय राई, परियोजना संयोजक सुदिप घिमिरे, हेमजा स्वास्थ्य चौकी पोखरा २५ का प्रमुख कुस्मराज सुवेदी, पोखरा महानगरपालिकाका मानसिक स्वास्थ्य फोकल पर्सन दिपेन्द्र सुनारले सहजीकरण गरेका थिए ।

सोमवार तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतिराज तिम्सिनाले तालिमका सहभागिहरुले आत्महत्याको सोच र व्यवहार भएका व्यक्तिको पहिचान गर्न र पहिचान भएका व्यक्तिलाई मनोसामाजिक सहयोग गर्न महत्वपुर्ण भूमिका खेल्न सक्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले सिकाईलाई व्यवहारमा उतार्न र समूदायमा गेटकिप्पर भएर बस्न तालिमका सहभागिलाई सुझाए । उनले भने–’मानिस सामाजिक प्राणी हो, मानिसमा हरेक प्रकारका संवेग आउँछन् तर मानिसमा आउने नकरात्मक संवेगलाई कावुमा राख्न र अरुको समस्या पहिचान गरेर सहयोग गर्न सक्ने क्षमताको विकास हुन आवश्यक छ ।’

कार्यक्रममा आत्महत्या रोकथाम सहयोग समिति पोखरा २५ का सदस्य कृष्णमान श्रेष्ठले सामाजिक दायित्व बहन गर्न सुझाव दिदै मनोसामाजिक ग्रस्त कोहि व्यक्तिलाई पनि हेलाको दृष्टिले सोच्न नहुने बताए ।

कार्यक्रममा कोशिशको सदस्य सपना सुवेदीले कोशिशका बारेमा जानकारी गराएकी थिईन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन कोशिशको आयोजनामा सञ्चालित तालिममा आत्महत्या रोकथाम सहयोग समिति,पोखरा २५, हेमजा स्वास्थ्य चौकी र सिविएम (ग्लोवल डिसएविलिटी इन्कुल्जम) ले सहकार्य गरेका थिए भने पोखरा महानगरपालिकाले समन्वय गरेको थियो । तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्