पाठेघरको मुखको क्यान्सर सम्वन्धी निःशुल्क शिविर,२ सय ८ जना महिलाहरु लाभान्वित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पोखरा २५ हेमजामा पाठेघरको मुखको क्यान्सर सम्वन्धी एक दिने निःशुल्क शिविर सञ्चालन भएको छ । शनिवार भएको शिविरबाट पोखरा २५ र आसपासका २ सय ८ जना महिलाहरु लाभान्वित भएका छन् ।

शिविरमा जाँच गरिएकामध्ये १ सय ४३ जनाकाे युएसजी गरिएकाे छ । जसमध्ये ८ जना (पाेल्याप १ जना, भिआईए सस्पेक्टेड ५ जना, फिव्राेआईडी १ जना, ओभरियन सिस्ट १ जना) मा विभिन्न लक्षण पहिचान भएकाे छ ।

लक्षण पहिचान भएका महिलाहरुलाई थप उपचारकाे लागि गण्डकी मेडिकल कलेजमा रिफर गरिएकाे छ । जसबाट उनीहरु भविष्यमा क्यान्सरको सिकार हुनपर्ने थप जोखिमबाट सुरक्षित भएका छन् ।

शिविरमा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा.रविन्द्र प्रसाद श्रेष्ठ, गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिडेण्डेन्ट डा. टुमाया घले लगायत डाक्टरसहितकाे ७ जनाकाे टिम, हेमजा स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए।

स्वास्थ्यकर्मीका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबभन्दा धेरै पाठेघरकै मुखको क्यान्सर हो । यसको उपचार सहज र सस्तो हुने भएकाले परीक्षण गरी सुरुवाती अवस्थामै थाहा पाएमा धेरै महिलाको ज्यान जोगाउन सकिन्छ ।

भीआईए अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट पाठेघरको मुखमा आएका परिवर्तनको जाँच गरिन्छ । यो परीक्षणमा स्वास्थ्यकर्मीले महिलाको पाठेघरको मुखमा एसिटिक एसिडको झोल लगाएर त्यहाँ भएको परिवर्तनलाई अवलोकन गर्छन् । दाग वा अन्य दोष देखिएमा ती कोषलाई क्रायोथेरापीको माध्यमले नष्ट गरिन्छ ।

पाेखरा २५ वडा कार्यालय हेमजाको आयोजनामा भएको कार्यक्रममा हेमजा स्वास्थ्य चौकीले समन्वय गरेको थियो भने गण्डकी मेडिकल कलेज पोखराले प्राविधिक सहयोग गरको थियो ।

शिविरअघि भएको औपचारिक कार्यक्रममा पोखरा २५ का अध्यक्ष मोतिराज तिम्सिनाले महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हुदा यसबाट भरपूर सेवा लिन सम्पूर्ण महिलाहरुलाई सुझाए ।

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा.रविन्द्र प्रसाद श्रेष्ठले शिविरबाट नपाएका सुविधाहरु हेमजा स्वास्थ्य चौकीको पर्चि लिएर जिएमसीमा आएमा विशेष सहुलियताका साथ सम्पूर्ण सेवा दिने बताए । उनले स्वास्थ्य सम्वन्धी सम्पूर्ण कार्यक्रममा गण्डकी मेडिकल कलेजले सधैं सहकार्य गर्ने बताए ।

कार्यपालिका सदस्य एवं पोखरा २५ की वडा सदस्य धनकुमारी पोख्रेल तिम्सिनाले शिविरको नेतृत्व गरेकी थिईन् ।
कुस्मराज सुवेदी प्रमुख हेमजा स्वास्थ्य चौकीका प्रमुख कुस्मराज सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा कार्यालय कर्मचारी ईश्वरीप्रसाद बास्तोलाले गरेका थिए ।

शिविरमा हेमजा स्वास्थ्य चाैकीका कर्मचारी जनप्रतिनिधिलगायतकाे सहयाेग रहेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्