पत्रकार र भूपु खेलाडी बिचको मैत्रिपूर्ण फुटसल बराबरीमा सकियो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

फराकिलो अग्रता जोगाउन नसक्दा पोखरामा आयोजित मैत्रिपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ । शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो ।

खेलकुद पत्रकार मञ्चले अध्यक्ष दीननाथ बरालको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उपाध्यक्ष सुरज श्रेष्ठको पासमा बरालले गोल गरेका थिए । त्यसपछि भुतपूर्व खेलाडी मञ्चको पोष्टमा एकतर्फी ५ गोल गरेको पत्रकार मञ्चले यो फराकिलो अन्तरलाई जोगाउन सकेन । पत्रकार मञ्चका तर्फबाट उपाध्यक्ष सुरज श्रेष्ठले दुई गोल गरें । मन क्षेत्री, विसन क्षेत्री, जसकाजी गुरुङ, प्रविण मगरले पत्रकार मञ्चको तर्फबाट गोल थपे ।

भूतपूर्व खेलाडी मञ्चको तर्फबाट ओम बहादुर गुरुङले दुई गोल गरें । दिनेश कुमार श्रेष्ठ, विर बहादुुर गुरुङ, राम बहादुर गुरुङ, जगदीश गुरुङ, चिन बहादुर गुरुङ र बाबुराम पौडेलले समेत खेलाडी मञ्चबाट गोल थपेका थिए । सूरुवाती क्रममा पत्रकार मञ्च अगाडि निरिह देखिएको भूतपूर्व खेलाडी मञ्चले अन्तिम समयमा उत्कृष्ट पूनरागमन गरेको थियो ।

यसअगाडि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

विश्व खेल दिवसको छेको पारेर नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूपु खेलाडी मञ्च यो कार्यक्रमको आयोजना गरेको हो । ६ अप्रिलको दिनमा पर्ने यो दिवस विकास र शान्तीका लागि अन्तराष्ट्रिय खेल दिवस भन्ने नाराका साथ साताव्यापी कार्यक्रम गरेर विश्वभर मनाइदै छ ।

भूपु खेलाडी मञ्चका कार्यवाहक अध्यक्ष दीलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल र भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्