आजदेखि पोखराको लेकसाइडमा १८ औं फेवा नव वर्ष महोत्सव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा आजदेखि १८ औं फेवा नव वर्ष महोत्सव शुरु हुदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नयाँ वर्ष २०८० को अवसरमा पोखराको लेकसाइडस्थित फिस्टेल गेटबाट हल्लन चोकसम्मको सडकमा तीन दिनसम्म यो महोत्सव हुनेछ । आज उद्घाटनका दिन खहरे चोकबाट ११ः३० वजे सांस्कृतिक झाँकी सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवमा लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार रहने उनले बताए ।

महोत्सवलाई लक्षित गरी प्रकाशित दररेटमा २० प्रतिशत छुट संघ अन्तर्गतका होटलहरुले प्रदान गर्ने संघले जनाएको छ ।

थला परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्यका साथ पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव हुन लागेको हो ।

नेपाली नयाँ वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गरी हर्ष, उल्लासका साथ मनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले संचालन हुने महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने विश्वास संघले लिएको छ ।

पछिल्लो क्रममा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वीराजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतीले यस क्षेत्रको पर्यटन आगमनदरमा प्रत्यक्ष मार परेको अवस्थामा फेवा महोत्सवले केही मात्रामा भए पनि पर्यटन प्रर्वद्धन  गर्न सघाउनेछ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्