
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरे ।
‘दुई चार जनाले हिन्दु राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिंड्ने होइन । पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान दिनुपर्छ’, ओलीले बैठकमा भनेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष ओलीले अब मुलुक हिन्दु राज्यतिर नफर्कने पनि प्रष्ट पारे । ‘मुलुक अब पछाडि फर्कंदैन, यसतर्फ ध्यान दिनुपर्छ’ ओलीलाई उद्धृत गर्दै एक नेताले भने ।
अध्यक्ष ओलीले भारतको समेत उदाहरण दिए । ‘नामै हिन्दुस्थान भएको भारत हिन्दु राज्य होइन, धर्मनिरपेक्ष देश हो’, ओलीले भनेका थिए ।