“खेल संघहरु इमान्दार हुनुपर्छ”:मन्त्री लिम्बु, बजेटमा खेलकुद मन्त्रालय प्राथमिकतामा नपरेको गुनासो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले विगतको वर्षमा भन्दा धेरैं कम बजेट छुट्याइएको बताए ।

‘सरकारले सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा परेन, यो भन्दा अगाडि झण्डै पौने ४ अर्बको बजेट छुट्याइएको भएपनि अहिले घटाएर १ अर्ब ८८ करोडको सिलिङ योजना आयोगले पठायो’ उनले भने । आफूले मन्त्रालय सम्हालेपछि केही योजना थप्नको लागि आग्रह गरेको भएपनि त्यसलाई सम्बोधन नगरिएको उनले खुलाए ।

मन्त्री लिम्बुले खेलसंघमा विवाद हुँदा खेल क्षेत्रमा समस्या हुने भएकोले संघहरुलाई इमान्दार बन्न जोड दिए ।

उनी भन्छन् –‘संघहरुमा विवाद देखियो । यो विवाद अन्त्य हुनुपर्‍यो । एक खेल एक संघ हुनुपर्ने भन्ने ऐनमा व्यवस्था छ । यहाँ एउटै खेलको थुप्रै संघ भएपछि विवाद हुने भयो । त्यसकारण संघमा रहेका साथीहरुले पनि खेलको वृहत्तर विकास र प्रवद्र्धनको लागि काम गर्नुहोस् ।’ राजनीतिक स्वार्थको लागि मात्र संघमा नलाग्न उनको आग्रह छ ।

पदाधिकारीबिचको टसलका कारण युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतका कर्मचारीको वृत्ति विकास लामो समयदेखि हुन नसकेको पाइएकोले त्यसलाई यसलाई सुधार गर्न सुरु गरेको उनले खुलाए ।
खेलकुद विमालाई प्रभावकारी बनाई खेलाडीलाई सुरक्षित भएको महशुस गर्ने उद्धेश्यले केही काम थालेको उनको भनाई थियो । नीतिगत समस्याका कारण कतिपय काम हुन नसकेको महशुस गरी नीति बनाउन थालिएको उनले सुनाए ।

खेलाडीको सुविधा समेत पदाधिकारीले लिने गरेकोे भन्ने गुनासो आएको भन्दै पदाधिकारीले न्युनतम सेवा सुविधाको प्रयोग गरी अधिकतम सेवा सुविधा खेलाडीलाई नै प्रदान गर्न आग्रह गरें ।

१९ औं एसियन गेमको तयारी सुरु भइसकेको भन्दै केही खेलको बन्द प्रशिक्षण पोखरामा हुन सक्ने संकेत उनले गरें । मन्त्रालय अन्र्तगतका कार्यालयको संघिय संरचना अनुसार स्वामित्व हस्तान्तरण गर्ने कार्य अगाडि बढेको उनले खुलाए ।

पछिल्लो समयमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको अवस्थालाई ध्यान दिँदै यो मन्त्रालय सबैको प्राथमिकतामा कसरी पर्न सक्छ भन्ने ध्ययका साथ आफूले काम गर्दै गरेको भनाई समेत उनले राखे । पत्रकारले सोधेका केही जिज्ञाशाको भने उनले स्पष्ट जवाफ दिएनन् । मन्त्रालयमा योजना लिएर आएमा पोखराको खेल क्षेत्रको विकासको लागि काम गर्ने प्रतिवद्धता भने व्यक्त गरें ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए । पत्रकार भेटघाट पश्चात मन्त्री लिम्बुले पोखरा रंगशालाको निरिक्षण समेत गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्