असार १५ गते हुने तेस्रो हेमजा हिले महोत्सवको तयारी तिव्र

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

यहि असार १५ गते हुने तेस्रो हेमजा हिले महोत्सवको तयारी तिव्र पारिएको छ । देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको आयोजनामा हुने महोत्सव नजिकिदै गर्दा आयोजकले शनिवार महोत्सव स्थल (विष्णुपादुका मन्दिर) वरपर सरसफाई गरेको छ ।

विन्दवासिनीकी बहिनीका रुपमा मानिदै आएको विष्णुपादुका भगवतीको महिमा र हेमजाका कृषकहरुलाई कृषिमा प्रोत्साहन बढाउन हिले महोत्सवलाई निरन्तरता दिईएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक गुरु हरिशरण पौडेलले बताए ।

महोत्सवले विष्णुपादुका मन्दिरमा आन्तरिक र बाह्य पर्यटकको आगमन पनि बढ्नुका साथै हेमजालाई कृषिको भूमिको रुपमा चिनाउन सहयोग पुग्ने आफूहरुको विश्वास रहेको विष्णुपादुका देवीस्थान टोल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराका साथ हुने महोत्सवमा उत्कृष्ट किसान सम्मान सहित हिले फुटवल, टिकटक प्रतियाेगिता, महिला/पुरुष हिले दौड, महिला/पुरुष रसि तान्ने, घैंटो फुटाउने, धान रोप्ने, हल गोरु दौड, हिले नाच, माछा छोप्ने, भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता समावेश गरिएको छ ।

प्रतियोगितामा खेलअनुसार प्रथम र द्धितिय स्थान हासिल गर्ने सहभागि व्यक्ति / टिमलाई पुरस्कारको व्यवस्था गरेको आयोजकले प्रतियोगितालाई सभ्य, व्यवस्थित र मर्यादित बनाउनका लागि केहि खेलमा सहभागि शुल्क समेत राखेको छ ।

हिले महोत्सव सम्पन्न गर्न आयोजकले १६ वटा विभिन्न उपसमितिहरु बनाएर तयारीलाई तिव्रता दिएको छ ।
महोत्सव सम्पन्न गर्न अनुमानित ८ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्