आज राष्ट्रिय धान दिवस मनाइँदै,कास्कीका विभिन्न ठाउँमा रोपाईँ तथा हिले महोत्सव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । आज नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । राष्ट्रिय धान दिवस आज रोपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।

आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।


यसैविच आज कास्कीका विभिन्न ठाउँमा रोपाईँ तथा हिले महोत्सव हुने भएका छन् । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा १३ कसेरीमा १८ औं असारे रोपाईँ महोत्सव हुदैछ । महोत्सवका मुख्य आकर्षणमा असारे गित र धान रोपाईँ प्रतियोगिता, पर्यटक, पत्रकार तथा महिलाका लागि हिले दौड, माछा समाउने प्रतियोगिता लगायतका रहेका छन् ।

यसै गरी पोखरा २५ हेमजामा तेस्रो हेमजा हिले महोत्सव हुदैछ । स्थानिय देवीस्थान टोलमा हुने महोत्सवमा उत्कृष्ट किसान सम्मान सहित हिले फुटवल, टिकटक प्रतियोगिता, महिला/पुरुष हिले दौड, महिला/पुरुष रसि तान्ने, घैंटो फुटाउने, धान रोप्ने, हल गोरु दौड, हिले नाच, माछा छोप्ने, भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता समावेश गरिएको छ ।

‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराका साथ हुने महोत्सवले विष्णुपादुका मन्दिरमा आन्तरिक र बाह्य पर्यटकको आगमन पनि बढ्नुका साथै हेमजालाई कृषिको भूमिको रुपमा चिनाउन सहयोग पुग्ने आफूहरुको विश्वास रहेको विष्णुपादुका देवीस्थान टोल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा खेलअनुसार प्रथम र द्धितिय स्थान हासिल गर्ने सहभागि व्यक्ति / टिमलाई पुरस्कारको व्यवस्था रहेको छ ।

यस्तै कास्कीकोे माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा प्रथम हिले महोत्सव हुदैछ । माछापुच्छ्रे त्रिशक्ति युनाईडेड क्लवको आयोजनामा हुने महोत्सवमा हल गोरु दौड प्रतियोगिता, महिला तथा पुरुष हिले दौड प्रतियोगिता, रस्साकस्सा प्रतियोगिता, धान रोप्ने प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा नृत्य प्रतियोगिता लगायतका प्रतियोगिताहरु समावेश गरिएको छ ।

यस बाहेक जिल्लाका विभिन्न ठाउँमा रोपाईँ तथा हिले महोत्सव आयोजना गरिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्