‘उज्योलो गण्डकी प्रदेश’ का विषयमा मुख्यमन्त्री पाण्डे र कुलमान घिसिङबिच छलफल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताए ।

गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणकालागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । ग्रिड लाईन, लघु जलविद्युत र शौर्य उर्जा बाटपनि विद्युतिकरण भएको बताउँदै उनले सकेसम्म सबै ठाउँमा ग्रिडलाईन बिस्तार गर्ने गरि अघि बढ्नुपर्ने बताए ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पु¥याउन दुर्गम ठाउँहरुमा लघु जलविद्युत, शौर्य उर्जा पनि प्रभावकारी हुने बताए । साथै उनले प्राधिकरणले ग्रिड लाईनबाट विद्युत पु¥याउनेगरि काम अघि बढाईरहेको जानकारी गराए ।

उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशनहरु निर्माण, ग्रिड लाईन बिस्तारको काम अघि बढीरहेको घिसिङले मुख्यमन्त्रीलाई जानकारी गराए ।
पछिल्लो केही समय यता विद्युत छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो गर्ने गरेको, उद्योग, ब्यापार ब्यवशायमा समस्या भएकाले समाधान तर्फ ध्यान दिन मुख्यमन्त्री पाण्डले अनुरोध गरे । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका बारेमा पनि मुख्यमन्त्री पाण्डेले चासो लिएका थिए ।

कार्यकारी निर्देशक घिसिङले बूढीगण्डकी आयोजना नेपालकालागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यस्तो हुन नसकेको बताए । साथै उनले प्रक्रिया भने अघि बढीरहेको जानकारी दिए ।

पृथ्वी राजमार्ग, मध्यपहाडी सडक खण्ड लगायत सडक बिस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै मुख्यमन्त्री पाण्डले त्यसतर्फपनि विद्यूत प्राधिकरणले ध्यान दिनुपर्ने बताए ।

प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत ति ठाउँका जोखिम पोलहरु तत्काल स्थानान्तरण गरिने कार्यकारी निर्देशक घिसिङले बताए । सडकले स्थानान्तरण गर्ने उपयुक्त ठाउँ नदिँदा समस्या हुने गरेको, जंगल क्षेत्रमा रुख काट्ने अनुमती ढिला हुँदा लाईन बिस्तारमा देशभर जटिल समस्या देखिएको निर्देशक घिसिङले बताए ।

भेटघाटमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदिशचन्द्र जोशी लगायतको उपस्थिती थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्