ताल प्राधिकरणले फिर्केमा बाँध्न सकेन बाँध,वजेट नै समर्पण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तारा पौडेल/पोखरा ।
फेवाताल प्रदूषणको एउटा कारण फिर्केखोलाले बगाएर ल्याउने फोहोर पानी पनि हो । फिर्केमा सहरको फोहोर र ढल मिसिन्छ र त्यही फेवातालसम्म पुग्छ । खोला तालमा पुग्ने गन्तव्यमा फोहोर छेक्न बाँध बाँध्ने ताल संरक्षण तथा विकास प्राधिकरणको योजना थियो ।

फिर्केमा बाँध बाँध्न प्राधिकरणसँग ५० लाख रुपैयाँ बजेट पनि थियो । तर प्राधिकरणले त्यो पैसा खर्च गर्न सकेन । फिर्केखोलामा बग्ने फोहोर र बाढीले फेवाताल पुरिनबाट जोगाउन गण्डकी प्रदेश सरकारले आव २०७९/८० मा उक्त ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर प्राधिकरणले बाँध निर्माण गर्न त परै त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि बनाउन सकेन । प्रदेश सरकारबाट बाँध निर्माणका लागि बजेट विनियोजन भएको थियो ।

बाँध निर्माण गर्न भनेर माटो परीक्षणमा २ लाख २६ हजार ६ सय २१ खर्च रुपैयाँ खर्च गरेको प्राधिकरणकी कार्यकारी निर्देशक कल्पना देवकोटा बताउँछिन् । पोखरा ८ मा रहेको बाराही टेक्निकल सोलुसन प्रालिले २०८० वैशाख ७ गतेदेखि २१ गतेसम्म दुई हप्ता लगाएर माटो परीक्षण गरेको हो । उसले माटो परीक्षणको रिर्पोट वैशाख २४ मा प्राधिकरणमा उपलब्ध गराएको थियो । ‘माटो परीक्षणको प्रतिवेदनअनुसार उक्त स्थानमा फाउण्डेसन निर्माण गर्न मिल्ने देखिन्छ,’ देवकोटाले भनिन् ।

आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा माटो परीक्षण सुरु गरेको प्राधिकरणले कार्यालयमा विषयगत दक्षता भएका प्राविधिक जनशक्ति उपलब्ध नभएको र समयसीमाको कारण देखाउँदै डिपिआर समेत बनाउन नसकेको हो । डिपिआरका लागि ५ लाख रुपैयाँ छुट्याइएको थियो ।



५० हजार रुपैयाँ पनि खर्च गरेन प्राधिकरणले

आर्थिक वर्ष २०७९/०८० का लागि ताल संरक्षण तथा विकास प्राधिकरणमा सूचना प्रकाशन तथा प्रशारणका लागि छुट्याइएको खर्च शीर्षकको रकम ५० हजार रुपैयाँसमेत ताल प्राधिकरणले खर्च गर्न सकेन ।  प्राधिकरणबाट असार १९ गते प्राप्त सूचनाअनुसार सो रकम जेठ मसान्तसम्म खर्च नभएको पाइएको थियो । तर आर्थिक वर्षको अन्तिम महिना असार मसान्तसम्म पनि सो रकम खर्च नगरी फ्रिज भएको प्राधिकरणका सूचना अधिकारी तथा कार्यक्रम अधिकृत महेन्द्रकुमार मण्डलले जानकारी दिए ।



माटो परीक्षण प्रतिवेदन पश्चात परामर्शदाता फर्महरुबाट लिखित प्रस्तावना पेस गर्न जेठ ४ गते ७ दिनको म्याद राखी प्राधिकरणले पत्राचार गरेको थियो । प्रस्तावदाताबाट कार्यक्रम गर्न नसक्ने व्यहोराको लिखित पत्राचार प्राप्त भएको प्राधिकरणले जनाएको छ । समय अपुग हुने भएकाले जेठ ११ गतेको निर्णय अनुसार कार्यक्रम स्थगित गरिएको प्राधिकरणले जनाएको छ ।

फेवाताल किनार गाईघाटस्थित फिर्केखोलामा बाँध निर्माण गर्न बजेट खर्चन नसकेपछि प्राधिकरणले  ४२ लाख ७० हजार रुपैयाँकाे बाँध निर्माण कार्यक्रम समर्पण गरेको थियो । प्राधिकरणकी कार्यकारी निर्देशक कल्पनादेवी देवकोटाले ५० लाख रुपैयाँको बजेट प्राधिकरणले योजना गरेर पठाएको कार्यक्रम नभएको बताइन् ।

बाँध निर्माण कार्यान्वयन गर्ने सिलसिलामा विभिन्न चरणमा स्थानीय तथा सम्बन्धित सरोकारवालाहरु र विज्ञहरुसँगसमेत समन्वय गरिएको प्राधिकरणले जनाएको छ । सम्बन्धित स्थानको स्थलगत अवलोकन तथा निरीक्षण समेत हुँदा उक्त स्थानमा विगतका वर्षहरुमा निर्माण संरचना भत्किएको अवस्थामा पाइएको प्राधिकरणको भनाई छ ।
उक्त स्थानको लेखाजोखा र विस्तृत योजना तयार बिना सिधै कार्यान्वयनमा जाँदा प्रतिफलप्रति प्राप्तिको आधार नदेखिएको पनि प्राधिकरणले जनाएको छ ।

यसअघि पोखराका नागरिक अगुवा रामबहादुर पौडेलले हचुवाका भरमा बजेट नसक्न खबरदारी गरेका थिए ।

प्राधिकरणले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विविध कारणले दोस्रो चौमासिकभित्र सुरु पनि नभएको र बाँकी अवधिमा पनि कार्यान्वयन हुन नसक्ने भनी गत चैत १० गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशलाई कार्यक्रम समर्पण भन्दै पत्र पठाएको थियो ।

अन्तिम समयमा आएर काम गर्न नसक्ने अवस्था भएपछि प्राधिकरणले कार्यक्रम नै समर्पण गरेको हो । ताल संरक्षण गर्नकै लागि बनेको प्राधिकरणले पनि काम गर्न नसक्नुले प्राधिकरणमाथि प्रश्न उब्जिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्