गण्डकीका नेतालाई एमालेको प्रशिक्षण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश प्रशिक्षक प्रशिक्षण कास्कीको लुम्लेमा सुरु भएको छ । एमाले गण्डकी प्रदेश स्कुल विभागको आयोजनामा कास्की अन्नपूर्ण गाउँपालिकाले लुम्लेमा ३ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो ।

साउन १२ गतेसम्म चल्ने प्रशिक्षणमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने, बिके पराजुलीसहित नेताले प्रशिक्षण गराउनेछन् । प्रशिक्षणमा गण्डकी प्रदेशका एक निर्वाचन क्षेत्रबाट १ र एक जिल्लाबाट १ गते ४७ जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य केशव आचार्यले जानकारी दिए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पुर्‍याउन प्रशिक्षक प्रशिक्षण कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास लिए ।

‘पार्टीको भौतिक उपस्थिति डिभाइस हो भने पार्टीको विचार सफ्टवेयर हो । समय अनुसार अपडेट हुन सकिएन भने आउटडेटेड भइन्छ, नेता कार्यकर्तालाई अपडेट गराउन यस्ता प्रशिक्षण आवश्यक पर्दछ,’ उनले भने, ‘हाम्रो ३ दिनको बसाईले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पुर्‍याउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।

नमुनावादी कांग्रेस, राजा फर्काउन खोज्ने राप्रपा र अवसरवादी माओवादीले देशलाई समृद्ध बनाउन सक्दैन: उपमहासचिव ज्ञवाली
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नमुनावादी कांग्रेस, राजा फर्काउने बास विचार भएको राप्रपा र अवसरवादी माओवादीले देशलाई समृद्ध बनाउन नसक्ने जिकीर गरे । प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमालेबाहेक दलबाट समृद्ध सम्भव नरहेको जिकीर गरेका हुन् ।
‘कांग्रेसले बोकेको नमुनावादी विचारले समृद्ध नेपाल निर्माण गर्दैन । राप्रपाको राजा फर्काउने बासी विचारले समाजको नेतृत्व गर्दैन । सत्ताको निम्ति जोकर जस्तो कसले एउटासँग, कहिले अर्काेसँग मिलेर सरकार बनाउने राजनीतिलाई घीनलाग्दो खेल बनाउने प्रचण्डको अवसरवादले अबको चुनौती पूरा गर्न सक्दैन,’ उनले भने ।

नयाँ आएका पार्टीमा पनि देशलाई समृद्धितर्फ लैजाने कुनै योजना नभएको दाबी गरे । उनले भने, ‘अहिले उदायका दलहरुको सामार्थ भनेको ढुंगा जहाँ लाग्यो, त्यहिँ मैले ताकेको थिए भन्ने हो । यीबाट पनि सम्भव छैन । यो अभिभारा पूरा गर्ने एमालेले मात्रै हो ।’

उनले अहिलेको गठबन्धन सरकार उद्देश्यविहीन रहेको जिकिर गरे । ‘विचारविहीन गठबन्धनमा न माओवादी, माओवादी जस्तो देखिन्छ न नेपाली कांग्रेस, कांग्रेस जस्तै देखिन्छ, यो सरकारबाट समृद्धि सम्भव छैन ।’ सत्ताका लागि मात्र गरिएको गठबन्धनले जनताको इच्छा र चाहना पूरा गरेर देशलाई समृद्ध बनाउन नसक्ने उनको ठोकुवा छ ।

देश निर्माण गर्न र आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रोक्न एमालेले मात्रै सक्ने उपमहासचिव ज्ञवालीले दाबी गरे । ‘हाम्रो आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप हुन थालेको छ । यी सबै कुरा रोक्नका लागि एउटा बलियो शक्तिको खाँचोे छ । त्यो बलियो शक्ति भनेको नेकपा एमालेमात्रै हो । एमालेको नेतृत्वमा मात्रै देश निर्माण हुन सक्छ,’ उनले भने ।

एमालेले लोकतन्त्रको जगमा उभिएर समृद्ध नेपाल, सुखी नेपालीको खाका कोरिरहेका उपमहासचिव ज्ञवालीले दाबी गरे । उनले भने, ‘प्राप्त भएको लोकतन्त्रको जगमा उभिएर समृद्ध नेपाल, सुखी नेपालीको खाका कोरिरहेका छौं । समृद्धिको अभियानको नेतृत्वको गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । कसैले यो काम पूरा गर्न सक्दैन ।’

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्