पोखरा ७ मा डेंगी रोग नियन्त्रणसम्बन्धी कार्यक्रम,लार्भा नष्ट गर्न वडाले स्प्रेकाे व्यवस्था गर्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ ले डेंगी रोग नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम शुरु गरेको छ । मंगलवार बिहान ७ बजे देखि ९ बजेसम्म दुई घण्टा माइकिङ गरी डेंगी रोग, यसको असर यसबाट बच्ने उपाय भन्दै जथाभाबी फोहोर मैला नफाल्न अनुरोध गरेको हाे ।

वडाले पहिलो चरणको सचेतना कार्यक्रममा अन्तरगत मंगलवार नुवारथोक र मासबार क्षेत्रमा माइकिङ गरेको हो । यस्तै बुधबार र विहिबार घारीपाटन र ढाँँड क्षेत्रमा गर्ने वडा अध्यक्ष राममोहन आचार्यले जानकारी दिए ।

दोस्रो चरणमा टोल समिति, क्लव, आमा समुह तथा संघ संस्थालाई डेंगी रोगको न्युनिकरण र यसबाट बच्ने उपायहरु सम्बन्धी प्रशिक्षण गराइने अध्यक्ष आचार्यले बताए ।

उनले डेंगी संभावित स्थान र लार्भाको पहिचान भए नष्ट गर्न वडाले स्प्रे तथा पाउडरको व्यवस्था गर्ने बताए ।

वडा सदस्य बिष्णुमणी बरालले डेंगीको प्रकोप बढ्दै गएको हुनाले सर्वसाधारणलाई सचेत गराउन वडालाई ३ क्षेत्रमा विभाजन गरीे सुरु गरेको डेंगीसम्बन्धी सचेतना कार्यक्रम सबै टोलमा घरदैलो गरी सन्देश दिइने बताए ।

मासबार आमा समुहका अध्यक्ष शारादा गिरीले डेंगी प्रकोप महामारीको रुप नलियोस भन्नका लागि सबै सचेत हुन जरुरी रहेको बताइन् । हरेक नागरिकले आफ्नो वरपर पानी जम्न नदिने र सफा राख्न सके मात्रै पनि डेंगीको जोखिम कम हुने हुँदा पानी जम्ने खाल्टा पुर्न र वरपर सफा राख्न अनुरोध गरिन् ।

कार्यक्रममा वडा नम्बर ७ का जनप्रतिनिधिहरु, टोल विकास संस्था, सहरी स्वास्थ्य केन्द्र ७ का कर्मचारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ , आमा समुह र क्लवहरुको उल्लेख्य सहभागिता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्