वडा नम्वर ६ मा डेंगी सचेतना कार्यक्रम निरन्तर

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‍पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ६ ले सप्ताहव्यापी गरेको डेंगी रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रमको छैटौं दिन पुरा भएको छ । गत शनिबार देखि सुरु गरेको सचेतना कार्यक्रम आज प्रगति मार्ग टोलमा गरेको हो ।

हरेक दिन बिहान ७ः३० बजे देखि ९ः३० बजे सम्म दुई घण्टा माइकिङ तथा घरदैलो गरी डेंगी रोग, यसको असर यसबाट बच्ने उपाय भन्दै जथाभाबी फोहोर मैला नफाल्न र आफ्नो वरपर सफा पानी जम्न नदिन अनुरोध गरेको छ ।

माइकिङ गर्दै वडा अध्यक्ष बिष्णु प्रसाद भट्टराईले डेंगीको प्रकोप बढेको भन्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।

वडा नम्बर ६ मा आन्तरीक मात्र नभई बाह्य पर्यटकको पनि बढि चहलपहल हुने हुँदा डेंगीको जोखिम पनि बढि भएको भन्दै सचेत रहन आग्रह गरेका हुन्।

बाहिरबाट आउने व्यक्तिलाइ डेंगी संक्रमण भएमा यात्रामा र होटलमा पनि उक्त व्यक्तिलाई टोकोको लामखुट्टेले अरुलाई टोकेमा डेंगी सर्ने हुँदा बढि जोखिम भएको बताए ।

पहिलोे चरणमा टोल समिति, क्लव, आमा समुह तथा संघ संस्थालाई डेंगी रोगको न्युनिकरण र यसबाट बच्ने उपायहरु सम्बन्धी प्रशिक्षण गराइएको र अहिले माइकिङ तथा घरदैलो गरेको भट्टराईले बताए ।

सहरी स्वास्थ्य केन्द्र ६ का प्रमुख अविनाशा मिश्र बरालले डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्ने बताइन्। उनले भनिन,’थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्ने र यसको वृद्धि हुन्छ । लामखुट्टेको लार्भा एक वर्ष सम्म सुख्खा ठाउँमा पनि बाँच्ने हुदा सजिलै लार्भा नष्ट गर्न सकिदैन । डेंगी प्रकोप महामारीको रुप नलियोस भन्नका होटलको प्रवेश द्धारमा राखिएका कलश तथा पानीका भाँडाको पनि हप्ताको दुई पटक फेर्न जरुरी छ ।’

महिला स्वास्थ्य स्वयमसेविका संयोजक गीता बरालले वडामा भएका १० जना महिला स्वास्थ्य स्वयमसेविकाले आफ्नो क्षेत्रमा डेंगी रोगको अवस्था, नागरिकको स्वास्थ्यबारे निगरानी गरिराखेको र वडा तथा स्वास्थ्य केन्दमा त्यसबारे जानकारी गराई रहेको बताइन् ।

वडा नम्बर ६ का जनप्रतिनिधिहरु, टोल विकास संस्था, सहरी स्वास्थ्य केन्द्र ६ को कर्मचारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ६,आमा समुह र क्लवहरुको सहभागिता थियो ।

यस्तै सचेतना कार्यक्रमका लागि घरदैलो गर्दै गर्दा महिला स्वास्थ्य स्वयमसेविका अमृता श्रेष्ठ डेंगी संक्रमित भएकी छन । उनमा तीन दिन अघि डेंगी पुष्टि भएको सहरी स्वास्थ्य केन्द्र ६ का प्रमुख बरालले जानकारी दिइन ।

घरमा बस्दा जाली ढोका लगाएर र घर बाहिर निस्कँदा लामा बाहुला भएको कपडा लगाउन पनि उनले सर्बसाधरणलाई आग्रह गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्