विद्यालय नाटक महोत्सव भदौ २७ गतेदेखि

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पोखरामा विद्यालय नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुने नाटक महोत्सव यहीं भाद्र २७ देखि सुरु हुनेछ । आगामी असोज १२ गतेसम्म चल्ने महोत्सवको लोगो आइतबार सार्वजनिक गरिएको छ ।

पाँचौं संस्करणको विद्यालय नाटक महोत्सवमा कुल १५ वटा नाटक मञ्चन हुनेछन् । जस अन्तर्गत पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक रहनेछन् । यसका अलावा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक मञ्चन हुने पोखरा थिएरटका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाए । यी नाटकहरु गन्धर्व नाटकघरमा महोत्सव अवधिभर हरेक दिन एक–एक वटाका दरले मञ्चन गरिनेछ ।

त्यसोत पोखरा थिएटरले २०७६ मा पोखरा महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गर्न लागेको हो ।

थिएटरमा भैरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटर प्रति विद्यार्थीको आर्कषण समेत बढ्न थालेको अध्यक्ष परिवर्तनले बताए । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्