मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल गण्डकी हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल गण्डकी-२०२३ हुने भएको छ ।

विब्रोस इन्टरटेन्मेन्टले विश्वकर्मा समुदायको युवायुवतीहरूको प्रतिभा प्रस्फुटन गराउनका लागि यो प्रतियोगिता आयोजना गरेको शनिबार आयोजकले पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

यो प्रतियोगिता गण्डकी प्रदेशमा बसोबास गर्ने विश्वकर्मा समुदायका युवायुवतीलाई लक्षित गरेर आयोजना गरिएको सौन्दर्य प्रतियोगिता भएको आयाेजककाे भनाई छ । विश्वकर्मा समुदायका १६ देखि २९ वर्ष उमेरका अविवाहित युवायुवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् ।

प्रतियोगिताको लागि फाराम खुलिसकेको छ । फाराम भर्नेहरूबिचको अडिसन मार्फत उत्कृष्ट १५ पुरुष र उत्कृष्ट १५ महिला छनोट गरेर असोजको ५ गतेदेखि १९ गतेसम्म विभिन्न चरणमा तालिम हुनेछ। तालिममा सम्बन्धित क्षेत्रका विज्ञहरूले सहजीकरण गर्नेछन् ।

प्रतियोगिताको फाइनल प्रतिष्पर्धा आगामी असोज २० गते पोखरामा भव्य कार्यक्रमको आयोजना गरेर गरिनेछ। प्रतियोगिताको दुवै विधाका विजेताले उपाधि सहित नगद ५० हजार हात पार्नेछन् ।

यसका अलावा काठमाडौँमा आयोजना हुने मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल सिजन थ्री मा सहभागी हुन पाउनेछन् ।

यस अगाडिको श्रृङखला काठमाडौँमा मात्र केन्द्रित भए पनि यसपालि सबै प्रदेशमा प्रतियोगिता आयोजना गरेर त्यहाँबाट विजेता बनेकाहरूबिच काठमाडौँमा प्रतिष्पर्धा गराउन लागिएको आयोजकले खुलाए ।

पोखरामा आयोजना हुने प्रदेश स्तरीय प्रतियोगितामा ९ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामाबाट बचत भएको रकम पोखरा २२ मा निर्माण भइरहेको विश्वकर्मा संग्रहालय निर्माणसँगै विभिन्न सामाजिक कार्यमा खर्चने आयोजकले बताए ।

पत्रकार सम्मेलनमा इभेन्ट इन्चार्ज बुद्धि वि.क. लामगादे, सल्लाहकार गणेश बराइली, इभेन्ट डाइरेक्टर पवन रामदाम, प्रेस संयोजक सूर्य सिकारु लगायतले बोलेका थिए ।

विश्वकर्मा समुदायका युवायुवतीलाई विभिन्न नेतृत्व तथा व्यक्तित्व विकासका साथै सामाजिक कार्यमा अग्रसर गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको उनीहरूले खुलाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्