बुधवारदेखि लान्द्रुकमा दशैं मेला

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबको आयोजनामा ‘लान्द्रुक दशैं मेला २०८०’ हुने भएको छ ।

क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । दशैंको शुभकामना आदानप्रदानसहित आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । साथै, युवाहरु बिच आपसी सद्भाव कायम राख्दै नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने पनि क्लबले लक्ष्य लिएको छ ।

मेलाको मुख्य आकर्षणमा पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता रहेको मेलाका संयोजक बिनायक गुरुङले जानकारी दिए ।

यसका साथै मेलामा साँस्कृतिक कार्यक्रमसहित रस्साकस्सी, छेलो फाल्ने, घैटो फुटाइँ, म्युजिकल चियर, बेलुन फुटाइँ प्रतियोगिता हुने उनले बताए ।

प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम, द्वितिय र तृतियले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फ प्रथम र द्वितियले क्रमशः २० हजार र १० हजार रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने, प्रौढ भलिबलतर्फ प्रथमले खसी र द्वितिय २ वटा भालेसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक बिनायक गुरुङले जानकारी दिए ।

योसँगै पुरुष भलिबलमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उदयीमान खेलाडी, सेमीफाइनलबाट म्यान अफ दी म्याच, अनुशासित टिम र उत्कृष्ट पोशाकमा उपस्थित हुने टिमलाई ट्रफीबाट पुरस्कृत गरिने उनले बताए ।

साथै, मेलामा हुने रस्साकस्सी प्रतियोगिताको विजेताले ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ । भने, द्वितियले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछ ।

छेलो फाल्ने प्रतियोगितामा प्रथम हुनेले भांग्रा, खादा र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितियलाई नगद र प्रमाणपत्र दिइनेछ । म्युजिकल चियर र बेलुन फुटाइँमा प्रथम, द्वितियलाई नगदसँगै प्रमाणपत्र प्रदान गरिनेछ ।

क्लबले नेपालमै पहिलो पटक मह सिकार महोत्सव (हनी हन्टिङ) आयोजना गरेर निरन्तरता दिइरहेको क्लबका सचिव पञ्चबहादुर गुरुङले जानकारी दिए । यो वर्ष पनि हनि हन्टिङ महोत्सव मंसिर महिनामा आयोजना हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्