व्यापार मेलामा पोखरेली युवा ध्रुवसहितको टोलीले जन्माएको खल्तीको सेवा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

खल्तीबाट मेलाको टिकट काट्दा ५० रुपैयाँसम्म खातामै फिर्ता 

पोखरा। ‘गोजीमा दाम छैन ? गोजीमा दाम नहुने मान्छे केही पनि काम छैन ..!’ पैसाको महत्व बुझाउन एकताका अत्यधिक रुचाइएको गीतको यो अन्तरा काफी छ । कुनै जमानामा खन्खनी गन्नुपर्ने पैसा यस्तै गोजी (खल्ती) वा थैलीमा राखिन्थ्यो । जमाना बदलियो । लगाउने कपडामा भएको खल्तीमा मोवाइललगायतका विद्युतीय ‘डिभाइस’ हरुले राज गरिसके । दाम पैसा नोट हुँदै विद्युतीयमा बदलियो । चाहेको बेला चट्ट मोवाइल खोल्ने, त्यसैबाट अर्को व्यक्तिको खातामा रुपैयाँ पठाउन मिल्ने भएपछि गोजीमा हैन मोवाइलमा दाम भए पुग्ने अवस्था सिर्जना भएको छ । न खुद्रा पैसाको दुःख, न बढी रकम तिरियो भन्ने नै पीर ! डिजिटल पर्स वा विद्युतीय भुक्तानी सेवाले मान्छेको दैनिकी सरल बनाइदिएको छ ।

र,यस्तै सेवा दिने नेपालको अग्रणी डिजिटल वालेट र विद्युतीय भुक्तानी सेवा प्रदायक खल्ती यो मामिलामा अग्रणी देखिएको छ । झण्डै ७ वर्ष पहिला ४ जना युवाले जन्माएका हुन्–खल्ती । पोखराका ध्रुव अधिकारी,बाराका अरविन साह,जनकपुरका मनिष मोदी र वीरगञ्जका अमित अग्रवालले इञ्जिनियरिङ पढ्दै गर्दा खल्ती जन्माएका हुन् ।

अमितबाहेकका युवाहरु पुल्चोक इञ्जिनियरिङमा पढ्थे । स्पारो एसएमएस सेवाको सफलताबाट  हौसिएका उनीहरुले डिजिटल भुक्तानी गर्ने नयाँ गेटवे बनाउने योजना बनाए । २०१७ मा यो खल्ती लञ्च भयो । नेपालमा त्यसअघि पनि यस्ता वालेटहरु आइसकेका थिए । युवाहरुले मिहिनेत गरे । खल्तीलाई सजिलो र  सवैको प्रिय बनाउन अनेकौं योजना ल्याए । ‘पैसाको नयाँ ठेगाना’ भन्दै गरिएको ब्राण्डिङबाट खल्ती लोकप्रिय बन्यो । गुगल एप्सले खल्तीलाई पुरस्कृत नै ग¥यो ।

खल्तीबाट मोवाइल रिचार्जदेखि खानेपानी, बिजुली,रेष्टुराँको बिल तिर्नदेखि ठूला भुक्तानी पनि गर्न सकिन्छ । खल्ती नेपालका सवैजसो बैंक र वित्तीय संस्थासँग जोडिएको छ । हो, पोखरेली युवा ध्रुवसहितको टिमले बनाएको खल्ती यतिबेला भने पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलासँग पनि जोडिएको छ । व्यापार मेलाको डिजिटल पार्टनर रहेको खल्तीले घरमै बसेर मेलाको टिकट काट्ने व्यवस्थामात्र मिलाएको छैन, टिकट काट्नेहरुलाई नगद नै छुट दिने नीति पनि लिएको छ ।

‘तपाईंले आफ्नो मोवाइलमा खल्ती एप्स डाउनलोड गरी एक्टिभ गर्नुभयो र त्यसबाट व्यापार मेलाको टिकट काट्नुुभयो भने लाइन बस्ने झन्भट हुँदैन भने टिकट मूल्यको २५ प्रतिशतदेखि अधिकतम् ५० रुपैयाँसम्म फिर्ता पाउनुहुन्छ,’खल्तीले भनेको छ । टिकट काट्नको लागि खल्ती लगअन गर्ने, राष्ट्रिय औद्योगिक व्यापार मेला (इन्डष्ट्रियल टेड फेयरमा) गएर वा क्यूआरकोड स्क्यानबाट पनि टिकट काट्न सकिने खल्तीको भनाइ छ ।

पोखराको नयाँबजारमा बिहीबार अर्थात् २०८० मंसिर २१ गतेबाट सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य संघ मेलाको आयोजक हो । मेलामा हस्तकलादेखि घरायसी सामान, गाडीदेखि स्कुटर,नुनदेखि लत्ताकपडाको बिक्री तथा प्रदर्शनी गरिएको छ ।

उद्यमशीलता चाहनेहरुलाई केही बुझ्न र सिक्न अनि समग्र गण्डकीको आर्थिक गतिविधि चलायनमान बनाउन मेला आयोजना गरिएको आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताएका छन् ।

उनका अनुसार मेलामा सहभागीहरुको मनोरञ्जनको लागि दैनिक लोकगीतसहितका सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्