व्यापार मेलामा ग्यास दुर्घटनाबारे जनचेतना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गएको फागुनको पहिलो हप्ता कांग्रेस नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीको घरमा दुःखद घटना भयो ।
खाना पकाउने एलपी ग्यास चुहिँदा भएको दुर्घटनाले चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भयो । नेता भण्डारी लामो उपचारपछि तंग्रिएर राजनीतिमा सक्रिय भएका छन् ।
सो दुर्घटनापछि ग्यासको सुरक्षित प्रयोग, ग्यास सिलिण्डरको गुणस्तरसँगै आगोले पोलेपछि हुने उपचारबारे राष्ट्रिय बहस सुुुरु भयो । सो दुःखद घटनाले प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ भन्ने सन्देशचाहिँ प्रवाह ग¥यो ।
आगोले पोलेपछिको उपचारको लागि बर्निङ केयर सेण्टर निर्माणको कुरा पनि उठ्यो । तर,निर्माण कहिले हुने हो पत्तो छैन ।
तथ्याङ्क के भन्छ भने,  पछिल्ला दिनहरुमा ग्यासबाट हुने दुर्घटना बढ्दो छ । सामान्य असावधानीका कारण पनि ठूला क्षतिहरु भइरहेका छन् । प्रहरीको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा देशभर १० जनाको मृत्यु ग्यास दुर्घटनाकै कारण भएको छ । ४५ जना घाइते भएका छन् । यही अवधिमा ३६ घटना भएका छन् । त्यसमध्ये ३४ वटा घटना ग्यास लिक भएको छ भने २ वटा विस्फोट भएको छ ।
दैनिक चलाउने ग्यासबारे धेरैलाई धेरै कुराको ज्ञान छैन । एलपी ग्यास महासंघका बरिष्ठ सल्लाहकार धर्मराज बर्तौला ग्यास कम्पनीसँगै सरकारले पनि सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देख्छन् ।
व्यवसायीहरुले चाहिँ आफ्नो तर्फबाट सक्दो जानकारी पस्किरहेको उनको जिकिर छ । यही सिलसिलामा उनको स्वामित्वमा गृहलक्ष्मी ग्यास कम्पनी प्रालिले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा स्टल नै राखेर उपभोक्तालाई ग्यासबाट हुन सक्ने क्षति र दुर्घटनाबारे सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।
ग्यास दुर्घटनाका कारण र जोगिने उपायबारे उपभोक्तालाई सचेत गराउनकै लागि यो अभियान थालिएको बर्तौलाको भनाइ छ ।  ‘खास कम्पनीको काम व्यापार गर्ने हो । तर, हामी हाम्रा उपभोक्ताको जीवनप्रति पनि गम्भीर छौं । उनीहरुको सचेतनाको जिम्मा हाम्रो हो,’ अध्यक्ष बर्तौलाले भने,‘बजारमा ग्यास किन्दा कतिपय ग्राहकहरु ठगिनुभएको छ । गलत व्यक्तिहरुले ग्यास बेचिरहेका छन् । ती सबै विषयको जानकारी मेलामा आउने दर्शकलाई दिएका छौं ।’
ग्यास प्रयोग गर्दा हुनसक्ने दुर्घटनाबाट बँच्न कम्पनीले अन्य समयमा पनि समुदाय स्तरमा प्रदर्शन गर्दै आएको उनले सुनाए । ‘टोलहरुमा पनि गएका छौं । त्यहाँ सानो समुदायमा सचेत गराइएको छ । तर, मेलामा आउने दर्शक लाखौं हुन्छन् ।
उनीहरुलाई लक्षित गरेर मेलामा स्टल राखिएको हो,’ उनी अघि भन्छन्, ‘ठूलो समूहमा एकैपटक सन्देश प्रवाह गर्न महोत्सव रोजेका हौं । यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो । ’ ग्यास दुर्घटनाको प्रमुख कारण ग्यास चलाउने विधिबारे उपभोक्तामा ज्ञान नहुनु नै रहेको बताउँछन् बर्तौला ।
‘कतिपय उपभोक्तालाई ग्यास कसरी चलाउने भन्ने जानकारी छैन । जानकारी भएकाहरु पनि तत्काल आइपर्ने समस्याबाट अत्तालिनुहुन्छ,’ उनले भने, ‘कमसेकम सचेत बनाउन सकियो भने ठूला जोखिम र क्षतिबाट जोगाउन सकिन्छ नि । यो सिकाउने हाम्रो दायित्व पनि हो ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति व्यापार मेला भनेपनि सबै स्टल व्यापारका लागि मात्रै नभएको बताउँछन् । ‘औद्योगिक व्यापार मेला हो । तर सबै स्टल व्यापारका लागि मात्रै छैनन् । गृहलक्ष्मी जस्ता कम्पनीहरुले स्टल किनेर नागरिकलाई सचेत गराएको छ ,’ उनले भने, ‘आजभोलि पैसा र समय खर्च गरेर अरुको हितमा काम गर्ने पाउन मुश्किल छ । तर हाम्रा उद्योगी व्यवसायीले त्यही गर्नुभएको छ ।’
गृहलक्ष्मी पोखरामै रहेको ग्यास कम्पनी हो । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्पनीले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । मेलाको स्टलमा ग्यास दुर्घटना रोक्न अपनाउनुपर्ने विधि, आगो लागेपछि निभाउने उपाय लगायत सिकाइएको प्रजापतिले बताए ।
पोखरामा ग्यासका कति उपभोक्ता छन् भन्ने तथ्यांक ट्वाक्कै छैन । तर हरेक घरममा ग्यास बल्छ । दैनिक ५ हजार सिलिण्डर ग्यास कास्कीमा मात्रै खपत हुने अनुमान छ । जिल्लाभर महिनामा १ लाख ५० हजार सिलिण्डर खपत हुन्छ ।
पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु भएको मेला पुस १ गतेसम्म जारी रहनेछ । मेलामा नेपालमै बनेका सामानहरु समेटिएको ‘मेड इन नेपाल’पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादनहरु समेटिएको औद्योगिक,पेभेलियन, हस्तकलाका सामग्रीहरुसहित,अटो, बैंक तथा वित्तीय संस्था, सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सेवाबारेको जानकारी पस्कने स्टल,गण्डकी प्रदेश सरकारको व्यावसायिक दक्षता मापनसम्बन्धी जानकारी पस्कने अभियान,पुस्तक तथा स्टेसनरी व्यवसायीको तर्फबाट पुस्तकको बिक्री तथा प्रदर्शनीसहित दैनिक उपभोग्य बस्तुहरुको प्रदर्शन तथा बिक्री भइरहेको आयोजक संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्