जाउँ है पोखरा अभियानका प्याकेज सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा र भैरहवा विमानस्थल संचालनका लागि सरकारलाई एकिकृत दबाव दिइने
भैरहवा ।  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भैरहवामा शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ ।
संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारबाट सुरु भएको अभियान अन्तर्गत संघले ५ वटा प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।
प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा-मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्ने सम्बन्धी यी प्याकेज दुई रात देखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्यविचका रहेका छन् ।
आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप दुई दशक अघि संचालित अभियानले भौरहवाका अतिरिक्त नेपालगंज, धनगढी र महेन्द्रनगर पनि समेटेको छ र अभियान ४ पुस सम्म चल्ने संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
भैरहवामा आयोजित कार्यक्रमा सिद्धर्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकास श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचित रुपमा संचालनमा नआउनु दुर्भाग्य भएको बताए । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन गर्न आफूहरुको दबाबमुलक आन्दोलन जारी रहेको उनले सुनाए
पत्रकार माधव ढुंगानाले पोखरा र गौतम बुद्ध विमानस्थलको यथोचित संचालनका लागि सरकारलाई एकिकृत दबाब दिनुपर्ने सुझाव राखे। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय  उडानका लागि सरकारलाई दबाब दिइएको र आफुहरुको धैर्यताको बाँध टुटे आन्दोलन गर्न बाध्ये हुने चेतावनी दिए । विमानस्थल संचालन सम्बन्धि मुद्दामा परिषद्को ऐक्यबद्धता उनले सुनाए ।
पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले पर्यटनलाई अब फरक र एकीकृत ढंगले अगाडि बढाउनुपर्ने भनाई राखे । भारतीय पर्यटकका पाँच सय गाडी बेलहिया नाकाबाट पार हुने गरेको जानकारी पनि उनले दिए । पत्रकार नरेश केसीले पोखरा, लुम्बिनी र चितवनलाई समेटेर गोल्डेन ट्र्याङ्गलको अबधारणा अगाडि बढाउनु पर्ने सुझाव राखे ।
देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको जाउँ है पोखरा अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभरि नेपालीमा घुम्ने बानीको विकास भएको अध्यक्ष सुवेदीले जानकारी दिए । अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको उनले सुनाए । गएको कात्तिक महिनामा पूर्वी नेपालका विभिन्न शहरमा पनि संघले यो अभियान संचालन गरेको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए । नाट्टा गण्डकीका अध्यक्ष रचना पन्तले पनि कार्यक्रममा भनाई राखेकी थिइन् ।
पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने उद्देश्य पनि कार्यक्रमले लिएको छ । कोभिड १९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउन समेत यो अभियानले बल दिने आयोजक संघका महासचिव राजेन्द्र ढकालले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्