जाउँ है पोखरा अभियान पश्चिम नेपालमा उत्साहप्रद रुपमा सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान उत्साहप्रद रुपमा सम्पन्न भएको छ ।

अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो । ती कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरुको उत्साहप्रद रुपमा सहभागिता रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा संचालित अभियानमा ती दुई संस्था बाहेक नाट्टा, टान र संचार क्षेत्रको समेत प्रतिनिधित्व रहेको थियो । अभियानको क्रममा आयोजित कार्यक्रममा संघका अध्यक्ष सुवेदीले पश्चिम नेपालका वासिन्दालाई संघका तर्फबाट पोखरा भ्रमणको निमन्त्रणा प्रदान गरेका थिए । पोखराका पर्यटक पश्चिम पठाउने र पश्चिमबाट पर्यटक पोखरा भित्र्याउने उद्धेश्यलाई पूरा गर्न सिधा हवाई तथा स्तरीय वस सेवा जरुरत पर्ने विषयमा दुवै तर्फका व्यवसायीहरु एकमत भएका थिए ।

भैरहवामा आयोजित कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्न दुबै शहरका व्यवसायी मिलेर सरकारलाई संयुक्त दबाब दिन एकमत देखिएको आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । यसैगरी नेपालगंजमा आयोजित कार्यक्रममा सिमा नाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यवहोर्नुपर्ने वातावरणको अन्त्य हुनुपर्ने विषयमा चर्चा भएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

धनगढीमा आयोजित कार्यक्रममा भने पोखरा र धनगढीविच विगतमा भएको सिधा हवाई सम्पर्क पुनःस्थापित गरिनुपर्ने विषयमा चर्चा भएको थियो । महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न पोखरा र महेन्द्रनगरविच मिलेर पर्यटकीय प्याकेज विकास गर्नुपर्ने विषयमा चर्चा भएको संघका सचिव पार्वती पाण्डेले सुनाइन् ।

अभियानको क्रममा संघले पोखरा र वरपरको भ्रमणका लागि विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको थियो । सो क्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको, यहाँको पर्यटनमा कूल १५ हजारले रोजगारी पाएको र होटल क्षेत्रमा पाँच अर्व रुपैयाँ भन्दा बढीको लगानी रहेको जानकारी दिए । दुई दशक अघि सुरु भएको जाउँ है पोखरा अभियानकै कारण नेपालीमा घुम्ने बानीको विकास भएको र अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपालीको हुने गरेको तथ्यांक संघका अध्यक्ष सुवेदीले सुनाए ।

कोभिड १९ र बैंकको चर्को ब्याजका कारण २५ प्रतिशत व्यवसायी यो क्षेत्रबाट पलायन भएको सुनाउँदै उनले विस्तारै अब पर्यटन लयमा फर्काउन आफूहरुले देशविदेशमा प्रबद्र्धनका कार्यक्रम जारी राखेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालका वरिष्ठ अधिकृत कुन्दन अर्यालले बोर्डले निजी क्षेत्रसँग मिलेर नै पर्यटन प्रबद्र्धनका कार्यक्रम अगाडि बढाउँदै आएको स्मरण गराए । उनले नेपाल पर्यटन बोर्डको संरचना, गतिविधि र भूमिकाका बारेमा समेत अभियानको क्रममा प्रष्ट पारेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटक झण्झटरहित रुपमा नेपाल छिर्न पाउने व्यवस्था सरकारले गर्नुपर्ने बताए । यो विषयलाई परिषद्ले सरकारसमक्ष राखिसकेको पनि उनले बताए ।
आबश्यकता अनुसार भारतीय पर्यटकले नेपालमा भारतीय मुद्रा ल्याउन पाउने व्यवस्थाका लागि समेत पहल गर्न उनले सरकारसँग माग गरे । पोखरा र गौतम बुद्ध विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय उडानका लागि समेत उनले सरकारको ध्यानाकर्षण गराए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्