लोकपप र लोकदोहरीमा जोस्सिए दर्शक लेखनाथ महोत्सवमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको लेखनाथमा जारी लेखनाथ महोत्सवमा बुधबार साँझको चिसो मौसम कलाकारहरुको फरक शैलीको प्रस्तुतिले तात्न पुग्यो । जब साँझ ढल्किदै गयो लाइभ पप कन्सर्टको प्रतीक्षामा रहेका दर्शकहरुको धैर्यता मनोरञ्जनमा परिणत भयो ।

लोकपपमा पछिल्लो समय लोकप्रिय बन्दै गएका गायक संगीतकार जी पुनको प्रस्तुतिसँगै कन्सर्टको आरम्भ भयो । गायक पुनको गायनमा संयुक्त फिल्मसका कलाकारहरुले कौडा नृत्य प्रस्तुत गरे । उनले लोकपप शैलीका आफ्ना अरु दुई गीत म त सिम्पल सिम्पल छु, म त सिंगल सिंगल छु तथा छ भने माया नजिकै आइदेउ न गाउँदा कन्सर्टमा दर्शकहरुलाई तताएको थियो । साँझ ढल्किदै जाँदा पनि दर्शकहरुको उपस्थिति र उत्साहमा कमि देखिएको थिएन । चिसो चिसो मौसम र विस्तारै साँझ गाढा हुँदै जाँदा चर्चित गायिका साहिमा श्रेष्ठ र गायक रमेश राज भट्टराईको प्रस्तुतिमा दर्शकहरु थप जोसिएर नाचिरहेका भेटिन्थे ।
बुधबार दिउसो महोत्सवमा लोक गीतसंगीतका पारखीका लागि लोकप्रिय लोकदोहोरी गायक विष्णु खत्रीसहितका कलाकारहरुको प्रस्तुति रहेको थियो । जसमा लोकदोहोरी कलाकारहरु बसन्त विक, तारापति सुवेदी, भुमिका गिरी, सुनिता नेपाली र कमला सुनार, हाँस्यव्यग्यतर्फ पुरुषोत्तम भण्डारी पुर्खेबा स्टेजमा प्रस्तुत भएका थिए । लोकदोहोरी गायक खत्रीले आफ्ना लोकप्रिय गीतहरु पल्टनबाट छुट्टिमा आको, भरिया दाइले लगायत प्रस्तुत गरेका थिए ।

फरक फरक दिन फरक फरक शैलीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको महोत्सव आयोजकको दावी छ । दोहोरीका पारखीदेखि युवाहरुलाई लक्षित गरि आयोजित लाईभ पप कन्सर्टका कारण सबै प्रकृतिका दर्शकको सहभागीताले महोत्सवलाई थप रोचक बनाएको बताइएको छ ।

पुस ५ गतेदेखि जारी १९ औं संस्करणको महोत्सवमा रमाईलो माहोल रहेका कारण दैनिक दर्शकको संख्या बढ्दै गइरहेको भनाइ आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको छ । महोत्सवलाई मौसमले पनि साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप बाक्लिने गरेको छ ।

बुधवार मात्र करिव २० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या २ लाख १५ हजार पुगेको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । महोत्सवमा राखिएका करिव तीन सय ४७ फरक फरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने अध्यक्ष श्रेष्ठले बताए ।

पुसको १६ गतेसम्म चल्ने महोत्सव छैटौं दिनमा चलिरहदाँ बुधवार मात्र करिव ४० लाख बराबरको आर्थिक कारोवार भएको र अहिलेसम्म ५ करोड १० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए ।

मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । उनले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताएका थिए ।
महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुति लगायतका कार्यक्रमहरु पनि भएका छन् । महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाइएको छ ।
साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेको आयोजक संस्थाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्