२३ औं आहा रारा पोखरा गोल्डकप पोखरा वडा कार्यालय ९ को साथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई पोखरा वडा कार्यालय ९ ले साथ दिएको छ । प्रतियोगिताको सह–उपप्रायोजक रहने गरी वडाध्यक्ष दीपेन्द्र मर्सानी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा वडाका प्रतिनिधि एवं क्लबका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो प्रतियोगिता सफल पार्न देशविदेशबाट सहयोग आउनेक्रम जारी छ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मन्त्रका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता पोखराकै एक ब्रान्ड बनिसकेको छ । अखिल नेपाल फुटबल संघबाट हालै मात्र प्रतियोगिताको तालिका प्राप्त भएपछि आयोजकले तयारीसमेत तीव्र पार्दै गएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।

साथै, पोखरा महानगरपालिकाको प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलिया र सहारा क्लब हङकङका सल्लाहकार एवं कानुन व्यवसायी देव गुरुङ समेतको विशेष सहयोग रहेको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जनाए ।

अफिसियल बैंक लुम्बिनी विकास बैंक र अफिसियल एयरलाइन्स बुद्ध एयर हो । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ । म्यान अफ द म्याच ट्रफी, नगद र मेडल, सहारा युकेद्वारा सौजन्य प्राप्त हुनेछ ।

प्रतियोगितामा बचत हुने रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । क्लब विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोबिल्लामा प्रदान गर्दै आएको छ । हाल चौंथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।

प्रतियोगितामा यसपालि पनि विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजकले भाग लिने छन् ।

गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्