२३ औं आहा रारा पोखरा गोल्डकप पोखरा नेचुरल फुड्स एण्ड वेभरेजको साथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई पोखरा नेचुरल फुड्स एण्ड वेभरेज प्रालिले साथ दिएको छ ।

अफिसियल ड्रिङ्किङ वाटररुपमा कम्पनीका तर्फबाट अध्यक्ष रविमोहन बराल र आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा क्लब र कम्पनीतर्फबाट प्रतिनिधिको पनि उपस्थिति थियो ।

पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो प्रतियोगितामा कम्पनीले प्रतियोगितास्थल, कार्यालय एवं पत्रकार सम्मेलन लगायतमा आवश्यकताअनुसार कम्पनीको उत्पादन ग्लेज स्प्रिङ वाटर उपलब्ध गराउनेछ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मन्त्रका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता पोखराकै एक ब्रान्ड बनिसकेको छ ।

प्रतियोगिता सफल पार्न देशविदेशबाट सहयोग आउनेक्रम जारी रहेको महासचिव रामजीप्रसाद अधिकारीले बताए । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।

प्रतियोगितामा बचत हुने रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जनाए ।

कठिन परिस्थिति तथा विपन्न वर्गका बालकलाई आवासीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोबिल्लामा प्रदान गर्दै आएको छ । हाल चौंथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।

प्रतियोगितामा यसपालि पनि विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजकले भाग लिने छन् । गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्