पोखरा ।
मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको आहा ! रारा पाेखरा गोल्डकप फुटबल प्रतियोगितामा विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा आउदो माघ ९ देखि २० गते सम्म पोखरा रंगशालामा हुने २३ औं सस्करणको प्रतियोगितामा १२ टिमको सहभागिता हुने आयोजकले जनाएको छ ।
बिहिबार क्लवले पोखरामा पत्रकार सम्मेलन गरी भुटानको पारो फुटबल क्लब र भारतको दिल्ली फुटबल क्लबले सहभागिता जनाउने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा गत वर्षको च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्र, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा क्लव सहभागी हुने महासचिव अधिकारीले बताए ।
विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउने छन् उत्कृष्ट ५ विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई २५–२५ हजार रुपैयाँ पुरस्कार छ । म्यान अफ द म्याचलाई ८ हजार र फाइनलमा १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख खर्च हुने अनुमान छ । बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको छ ।
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिमश्री फुड्स प्रालिका निर्देशक किरण केसी, क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङलगायतले प्रतियोगिताको बारेमा बोलेका थिए ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. सं. २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ। प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा ! तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।
पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंगका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोगी हुन् ।
प्रतियोगिताको अफिसियल बैंक- लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स -बुद्ध एयर रहँदै आएका छन् | उत्कृष्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् |
म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा यु.के.बाट सौजन्य दिँदै आएको छ । २३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।
पोखरा–१७, दोविल्लामा २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा लगायत फुटबल प्रशिक्षण दिदै आएको सहारा फुटबल एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।