टाइगर कप भलिबल:फाइनलमा गण्डकी र टिप टप हेल्प नेपालकाे उपाधि भिडन्त

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । चौंथो टाइगर कप भलिबल प्रतियोगिता २०८० को उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस क्लब आमने सामने हुने भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पुरुषतर्फको सेमीफाइनलमा आ–आफ्ना खेल जित्दै गण्डकी प्रदेश भलिबल संघ र हेल्प नेपाल स्पोर्टस क्लब उपाधि नजिक पुगेका हुन् ।

घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो ३–० को सेटमा र टिप टप हेल्प नेपालले पाहुना टोली श्रीलंका आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।

शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा पहिलो सेट २५–१८ ले पाहुना टोलीलाई सुम्पिएको टिप टपले हेल्प नेपालले पछिल्ला तीन सेटमा लगातार २५–१४, २५–१८ र २६–२४ ले जित्दै उपाधि यात्रामा आफूलाई उभ्याएको छ ।

त्यस्तै गण्डकीले विभागिय टोली एपिएफलाई २५–१७, २५–२० र २५–२२ ले जित्दै फाइनलमा स्थान बनाएको छ ।

गण्डकी प्रदेश भलिबल संघ यस अघि पहिलो र तेश्रो संस्करणको टाइगर कपको उपाधि जितेको छ भने टिप टप हेल्प नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । गण्डकीले तीनजना भारतीय खेलाडी टिममा समावेश गर्दा टिप टपले तीन जना पाकिस्तानी खेलाडी समावेश गरेको छ ।

यस्तै महिला तर्फ शुक्रबार नै भएको तेश्रो स्थानको खेलमा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । सम्पन्न तेश्रो स्थानको खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुझाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले जित्दै तेश्रो स्थान प्राप्त गरेको छ । जीत संगै आर्मीले नगद रु १ लाख २५ हजार ५५५ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

चौथो टाइगर कप भलिबल अन्तर्गत शनिबार पुरुष तर्फ तेश्रो स्थान र फाइनल खेल हुने छ भने महिलातर्फ समेत फइनल खेल हुनेछ । महिलातर्फ एपिएफ क्लव र न्यू डायमण्डका बिच हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्