पोखरा रंगशालामा मंगलवारदेखि आहा ! रारा पोखरा गोल्डकप 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । मोफसलकै प्रतिष्ठित ‘आहा ! रारा पोखरा’ गोल्डकपको २३ औं संस्करण माघ ९ गते मंगलवारदेखि शुरु हुदैछ ।

 पाेखरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयाेजक सहारा क्लवले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा १२ टिम सहभागी हदैछन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

 उद्घाटन खेल आयोजक सहारा क्लब र थ्रीस्टारबीच हुने भएको छ । माघ ९ गते पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे खेल सुरु हुनेछ ।

पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै आयोजकले प्रत्येक खेलखेलवापत अतिरिक्त प्रोत्साहन रकम पनि दिँदै आएको छ । जसअनुरुप प्रि–क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले पाउनेछन् ।

क्वार्टरफाइनलमा विजेता र पराजित दुवै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा विजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक सहाराका अध्यक्ष केवशराज बरालले जानकारी दिए ।

विद्यार्थीहरुले नि:शुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गर्नुपर्नेछ भने अनिवार्य विद्यार्थी पोशाकमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, आयोजकले प्रत्येक दिन २ जना दर्शकलाई पुरस्कृत पनि गर्ने भएको छ । प्रत्येक दिन गोलाप्रथाबाट चुनिएका २ जना दर्शकलाई ५/५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्