राईनो संरक्षण गोल्डकप सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । खेलकुद मार्फत गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ शनिबार बाट नवलपुरको कोल्हुवामा छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप सुरु भएको छ । राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २–१ ले हराउँदै सेन्टर कलेज फोर  ब्रदर्सले प्रतियोगितामा जित निकालेको हो ।

खेलमा फोर ब्रदर्सका लागि बिनोद केबट र फागुराम चौधरीले समान एक–एक गोल गरे । खेलको अन्तिम ४ मिनेटमा वीरगंज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काएका थिए । त्यस्तै आजको खेलमा सेन्टर कलेज फोर ब्रोर्दरका खेलाडी फागुराम चौधरीले म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई नगद रु ५ हजार नगद पुरस्कार गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा श्रीधर शर्माले हस्तान्तरण गरे ।

प्रतियोगिता अन्तर्गत भोलि अर्थात् माघ २८ गतेको खेल हनामी बीएफसी चितवन र गण्डकी प्रदेशको फुटबल टीम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रोर्दर, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लबको सहभागीता छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले गरिन् । सो अवसरमा बोल्दै मन्त्री सिम्खडाले गण्डकी प्रदेशको खेल विकासका लागि प्रदेश सरकार प्रतिवद्ध भएको जनाउँदै यस प्रकारका प्रतियोगिताहरुलो समाजमा बन्य क्षेत्रको संरक्षणमा जनचेतना जगाउन भूमिका खेल्ने बताइन् ।

उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषका सदस्य सचिव श्रीधर शर्माले परिषदले आफ्ना कार्यक्रमहरु योजनाबद्ध रुपमा अघि बढाएको बताए । उनले प्रदेशका खेलाडीहरुको हितका लागि विभिन्न कार्यक्रम सहित रेफ्री तथा प्रशिक्षकहरुको सुचिकरण, दुर्घटना विमा, खेलाडी र खेलाडीका परिवारलाई सुविधा अन्तर्गत सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्ने लगायतका विषयमा समेत परिषदले योजनाहरुलाई कार्यान्वयनको दिशामा अघि बढाएको उल्लेख गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्