पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने कास्की प्रजिअ घिमिरेको प्रतिवद्धता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने म्याराथनको समयमा हुन सक्ने ट्राफिक व्यवस्थापन सँगै धावकका लागि सडक सुरक्षाको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा धावक तथा खेलाडीहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै पहिलो पटक यस्तो छलफल सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुरक्षा निकायले सडक सुरक्षा नभई धावकको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रशासनको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सफल म्याराथनलाई सफल बनाउनेमा प्रमुख जिल्ला अधिकारी घिमिरेले विश्वास दिलाए । आयोजक मञ्चलाई एपिएफ र नेपाल पुलिसलाई म्याराथनको रुटको नक्सा प्रदान गर्न अनुरोध गर्दै पुलिस र एपिएफलाई आ–आफ्नो योजना अनुसार सघाउन समेत आग्रह गरे ।

“हामीले सेक्युरिटी दिने होइन बरु सेफ्टी दिने हो । यहाँ सेक्युरिटी चाहिएको होइन्, धावकहरुका लागि रोड सेफ्टी चाहिएको छ त्यसका लागि हामी सहयोग गर्छौ’ उनले भने, “प्रशासनले जे–जे गर्नुपर्ने हो गर्छौ । बरु तपाईँहरुले स्टार्ट पोइन्टमा भन्दा इन्डिङ पोइन्टतर्फ एम्बुलेन्सहरु बढी राख्नुस् ।”

म्याराथनका दिन प्रहरी परिचालनमा कमी भएमा प्रदेशबाट समेत मगाउने उनले सुनाए । उनका अनुसार म्याराथनको १० किमिमा आफुसहित कार्यालयका कर्मचारी र अन्य सरकारी निकायकालागि समेत पत्राचार गरिनेछ । साथै प्रहरीले म्याराथनमा खटिएका स्वयम सेवकलाई चिन्ने र उनीहरुसँगको समन्वय कसरी गर्ने भन्ने कुराको जानकारी दिन समेत आग्रह गरे ।

म्याराथनमा जिल्ला अधिकारी सहित कास्की प्रहरी प्रमुख मोहन कुमार थापासमेत प्रतिस्पर्धा गर्ने भएका छन् । घिमिरेले उक्त दिन ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले तत्कालै यातायातसँग आबद्ध संगठनसँग छलफल गरी सहज गर्न अनुरोध गरे ।

छलफलमा सहायक प्रजिअ गंगा बहादुर क्षेत्री, नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र कास्कीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक भानु शर्मालगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सुरक्षा उपसमितिका संयोजक पूर्व प्रहरी निरिक्षक हरि बहादुर बरुवाल, सुरक्षा उपसमितिका सल्लाहकार पूर्व एसपी विष्णुहरि गौतमले म्याराथन अन्तर्गत अपनाउनु पर्ने विशेष सुरक्षा ब्यवस्था बारे जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्