‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’को नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्ले चैत ९ गते (मार्च २२) विश्वभर एकसाथ रिलिज हुने जानकारी दिएको हो ।

षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको सिनेमालाई संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले सिनेमालाई प्रदर्शन गर्दैछ ।

नेपाली सिनेमाको बजार विस्तार र प्रवर्दधनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टस्ले ‘जात्रा’का दुवै शृङ्खला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ भव्य रुपमा प्रदर्शन हुने जनाएको छ । यो कम्पनिका सञ्चालक छत्र थापाले प्रवासमा रहेका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँको समुहलाई विश्वास गर्नुका साथै आशावादी रहने गरेको बताए ।

सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । सिनेमा हासो र रोदनको मिश्रणलाई मौलिक्तासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमा निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । सिनेमामा हरिवंश आचार्य, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्