विश्व वातावरण दिवसमा १९६० बिरुवा रोपिए,‘बिरुवाको स्याहारमा ध्यान दिऔं’:वन अधिकृत काफ्ले

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय कास्कीबाट यस वर्ष १९६० बिरुवा वितरण भएका छन् ।

गत वर्ष वितरण गरी मौज्दात रहेका बहुवर्षीय बिरुवा विभिन्न संघसंस्थाको माग अनुसार वितरण गरिएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरि गौतमले जानकारी दिए । उनका अनुसार सरकारी तथा गैर सरकारी संघसंस्था , क्याम्पस तथा विद्यालय र केही व्यक्तिगत रुपमा माग गरी बिरुवा लगेका छन्।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल राज काफ्लेले हरेक वर्ष विभिन्न दिवस तथा कार्यक्रमका अवसरमा बोटबिरुवा रोपिने गरेको बताए ।

उनले बिरुवा रोपे पछि आफ्ना बालबच्चा र सन्तानलाई झै स्याहार गर्न  पनि अनुरोध गरे । बिरुवा रोप्ने कार्य पूर्ण तयारीका साथ गर्न सके बिरुवा हुर्कने बताए । हरेक बर्ष बिरुवा मात्र रोप्न भन्दा पनि रोपिने बिरुवाको उचित रेखदेख र स्याहार गरी हुर्काउन सके मात्र वृक्षरोपनको अर्थ हुने उल्लेख गरे ।

संघसंस्थाले लागेको बिरुवाको अवलोकन तथा निरीक्षण गर्ने गरेको कार्यालयले जनाएको छ ।

यस वर्ष पारिजात, गुलमोहर, जितेन्द्र फूल, कल्कि, धुपी, रूद्राक्ष, टिकुमा, कपूर, पैंयू, हर्रो, बर्रो, अमला, तेजपात, राजवृक्ष, अम्बा, कटहर, बाँस, बर र पिपल जस्ता सौन्दर्यकरण, डाले घाँस, र जडिबुटी प्रजातिका १९६० बिरुवा वितरण गरिएको हो ।

यस्तै कार्यालयले असारको तेस्रो साताबाट यो वर्षका बिरुवा वितरण कार्य सुरु गर्ने भएको छ । कार्यालय परिसर र महेन्द्र गुफा नर्सरीमा यो वर्षका लागि डाले घाँस प्रजातिका ५० हजार बिरुवा, जडिबुटी प्रजातिका ३५  हजार र १५ हजार बहुवर्षीय बिरुवा उत्पादन गरेको सूचना अधिकारी गौतमले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्