
पोखरा । २४ तोला सुनसहित १ करोड भन्दा बढी मुल्यका सामान चोर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल पोखरा १३ मियापाटन बस्ने वर्ष २१ को नविन नेपाली र गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०४ गैह्रापाटन बस्ने वर्ष अं. २९ का सुवास थापा मगर हुन् ।
उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जना अभियुक्तहरु पेशेबर चोर रहेको र निजहरुलाई यस भन्दा अगाडी समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी अविनास दीप जिसीले बताए ।
प्रहरीका अनुसार निजहरुले यहि जेठ ११ गते रातको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ घारिपाटन स्थित पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ढोका समेत फोडी कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद रु.३,८०,०००।– समेत गरी १ करोड भन्दा बढीका सरसामानहरु चोरी गरी फरार भएका थिए ।
सोही सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतको विशेष अनुसन्धान टोली खटिई विभिन्न प्राविधिक विश्लेषण तथा सिसि फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
-
नोटः बिगत केही समययता चोरी भएका आफ्नो घर पसलमा पीडित तथा निवेदकहरुलाई चोरी भएका कुनै समानहरु वरामदीमा रहेको भएमा उल्लेखित सामानहरु पहिचान गरि कानून बमोजिम कारवाहीमा सहयोग गर्नहुन अनुरोध गरिएको छ ।
निजहरुको घरकोठाबाट बरामद भएका सामानहरुको विवरणहरु :-
१) सुनका विभिन्न गरगहना (सुन र लाहा सहितको तौल जम्मा २४ तोला ८४ लाल)
२) विभिन्न कम्पनीका मोबाईल- २२ थान
३) विभिन्न कम्पनीका क्यामरा – ९ थान
४) विभिन्न कम्पनीका ल्यापटप- १५ थान
५) टि.भी.- २ थान
६) विभिन्न किसिमका (चरेश, तामा तथा चाँदीका) भाँडा वर्तन- ४६ थान
७) कफी मेसिन- २ थान
८) नगद रकम रु.११,५६८।–( एघार हजार पाँच सय अठ्सठ्टी)
९) विभिन्न कम्पनीका घडी – ११ थान
१०) सक्कल नागरिकता १ थान र सक्कली राहदानी १ थान
११) ड्रोन क्यामरा – २ थान
१२) रेडियो सेट वाकीटकी – २ थान र ऐ.को चार्जर २ थान ।
१३) चोरीमा प्रयोग हुने बरामद भएका औजारहरु – फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान, फलामको कुटो १ थान,
अपराधिक कार्यविधि:-
- निजहरू साँझको समयमा करिब २ देखि ३ घण्टा त्यस्ता घरहरू निरन्तर अवलोकन गरी निग्रानी गर्ने त्यसपछि कुनै पनि बत्ती नबलेपछि उक्त घरमाहरूमा चोरी गर्ने ।
- प्रायजसो त्यस्ता घरहरूको व्यक्ति जो विभिन्न कार्यालयमा काम गरी फर्की सकेपछि केही समय बाहिर मनोरञ्जन गर्न निस्किने बितिकै त्यस्ता घरहरूमा चोरी गर्ने ।
- दुई जना मध्ये एक जना पहिला चोरी गर्ने स्थानको घर आसपासको एरियामा गई निग्रानी गरी सूचना संकलन गर्ने र घरमा मानिस भए/नभएको एकिन गरी अर्को साथीलाई खबर गरी चोरी गर्ने गरेको व्यहोरा प्रारम्भिक सोधपुछको क्रममा खुलाएको ।
अपराधिक विवरण:-
पक्राउ परेका दुबै जना अभियुक्तहरु पेशेबर चोर रहेको निजहरुलाई यस भन्दा अगाडी समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको ।
- सुवास थापा मगरको नाममा चलेका मुद्दाहरु : मिति २०७५/१२/१० गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्दा चलेको ।
- राज कुमार नेपालीको नाममा चलेका मुद्दाहरु : मिति २०८०/०१/१७ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्दा चलेको । निज पटक पटक मुद्दामा करिव ८ वर्ष कारागारमा जेल सजाय भुक्तान गरी पछिल्लो पटक अन्दाजी १० महिना अगाडी जिल्ला कारागार कास्कीबाट छुटेको देखिएको ।
यस भन्दा अगाडी पोखराका विभिन्न स्थानमा चोरी घटनामा निजहरुको संलग्नता सम्बन्धमा ।
- मिति २०८१/०१/१२ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.०३ नदिपुर गण्डकी बोडि बिल्डिङ अगाडी रहेको बेथेस्टा ईन्टरनेशनल ल्याङवेज सेन्टर प्रा.लि.बाट १६ थान ल्यापटप, सोनी तथा क्यानन कम्पनीका ल्यापटपहरु चोरी गरेको ।
- मिति २०८१/०१/१६ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. ०८ जाल्पारोड स्थितमा रहेको मनिका शाही गुरुङको बिन्स एण्ड बेरिज क्याफेबाट कफी बनाउने ठुलो मेसिन थान १ र ग्रयाण्डल थान १ चोरी भएकोमा दुबै सामान बरामद भएको ।
- मिति २०८१/०१/२९ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.२७ खरानीफाँट स्थित प्रतिभा नेपालीको घर कोठाबाट dji MAVIC लेखेको ड्रोन क्यामरा थान १, क्यानन कम्पनीको DSLR क्यामरा थान १, लेनेभो कम्पनीको ल्पापटप थान १, विभिन्न सुनका गरगहनाहरु चोरी भएकोमा ड्रोन क्यामरा थान १, DSLR क्यामरा थान १, ल्पापटप थान १ बरामद भएको ।