
पाेखरा ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन भएकाे छ ।
कमिटीले ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा शनिबार पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।
रक्तदान कार्यक्रममा बाेल्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताए ।
उनले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिए ।
‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उनले भने ।
उनले युवाहरूलाई काम गरेर श्रममा बाँच्दै आफ्नो पौरखमा अगाडि बढ्न आग्रह गरे । युवा संघ कास्कीले बाढी पहिरो लगायतका विपद्मा परेका जनताको उद्धारमा सक्रिय सहभागिता जनाएर नमुना काम गरेको उनले बताए ।
अबका दिनमा अझ सुदृढ एकतावद्ध बनेर आलोचना गर्नेलाई कामबाट जवाफ दिन उनकाे जोड छ ।
अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपद्मा परि कास्की सहित लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा सहितका गण्डकी प्रदेशका जिल्लामा ठुलो जनधनको क्षति भएकोमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले चिन्ता व्यक्त गरे ।
पहिरोमा परेर निधन भएकाको परिवारलाई आवश्यक राहत र व्यवस्थापन काम भइरहेको उनको भनार्ई छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज विक्रम गुरुङ, कास्की सचिव उमेश गुरुङ लगायतले बाेलेका थिए ।
४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा साउन ६ गते बिहान ७ बजे जिरो किमी देखि पुष्पलाल पार्कसम्म सरसफाई कार्यक्रम तथा साउन ७ गते साईमन पार्टी प्लालेस सिर्जनाचोकमा बिहान ११ बजे ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र वर्तमानको कार्यभार’ विषयक विचार गोष्ठीको आयोजना हुने एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले बताए ।