
पाेखरा । बीमा रकम पाउने लाेभले आफ्नै पसलमा आगाे लगाउने पसल संचालक स्याङ्जा आँधीखोला वडा नं. ४ का ३६ वर्षीय सुजन गहतरात पक्राउ परेका छन् । साथै, प्रहरीले आगाे लगाउन उक्साउने ४३ वर्षीय पवन नेपाललाई पनि पक्राउ गरेकाे छ ।
गत साउन १६ गते राति पोखराको लेकसाइड, नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा भएको आगोलागीमा डेढ करोड बराबर क्षति भएको बताइएकाे थियाे ।
विद्युत् सर्ट भएर आगलागी भएको भनिएपनि बीमाको लोभले पसल सञ्चालक आफैले लगाएको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ । प्रहरीले पक्राउ परेका र आगलागिकाे कारण आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेकाे हाे ।
प्रहरीले उनीहरुलाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट ७ दिन म्याद थप भई अनुसन्धान गरिरहेको छ ।
पोखरा १७ ड्यामसाइड बस्ने सुजन गहतराज पसल संचालक हुन् । उनले डा. थानेश्वर पहारीको घरमा पवित्रा अधिकारीको नाममा केही वर्षदेखि उक्त पसल संचालन गर्दै आएका थिए ।
बुधबार राति करिब २ बजेर १० मिनेटमा उक्त सपिङ सेन्टरमा आगो लागेको थाहा पाएपछि स्थानीयसहित प्रहरीको सहयोगमा राति नै एक घण्टामै आगो नियन्त्रणमा आएको थियो ।
आगो लागेपछि पसल संचालक सुजन गहतराले पसलमा के कसरी आगो लागेको हो भनी गत १७ साउनमा वडा प्रहरी कार्यालयमा निवेदन समेत दिएका थिए । उनले पसलको बीमा नगराएको बताए ।
प्रहरीले सुरुदेखि नै सुजन र आगलागी घटनालाई शंकालु पारेर हेरिरहेको थियो । त्यसै क्रममा प्रहरीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग बुझ्यो । इनभटरबाट आगो नलाग्ने बरु जोड्ने क्रममा बिग्रन सक्ने जवाफ प्रहरीले पायो । विद्युत प्राधिकरणसँग बुझ्दा पनि बिजुलीमा कुनै कैफियत नरहेको जवाफ आयो ।
अनुसन्धानका क्रममा उक्त पसलको पोखराकै न्यूरोडस्थित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडबाट २ करोड १० लाख बराबरको बिमा गराएको र पसलमा आगो लागेको भनी गत १७ साउनमा बीमा दाबीको मागका लागि निवेदन समेत पेस भएको भेटियो ।
योजना बुनेरै उनले बिमा गराएको र त्यही अनुसार आगजनी गरेको भन्ने प्रहरीको आशंका सत्य सावित भयो ।
यस्ताे थियाे आगलागीको योजना
घटना हुने राति सुजनले घरबाट गाडीमा स्प्रिटको ग्यालेन राखेका हुन्छन् । रातको अन्दाजी ११ बजे सुजनले साथी पवन नेपाललाई बोलाउँछन् ।
उनीहरुले पोखरा १७ ड्यामसाइडको फेवा झिर रेष्टुरेण्टमा ५ वटा बियर पिउँछन् । पानी परेको दिन सबै मानिस सुत्ने र खासै चहलपहल नहुने नेपालको सुझावअनुसार त्यही राति नै आगो लगाउने सरसल्लाह हुन्छ ।
पसल सञ्चालकको पसल खासै धेरै नचलेको र सामान ठूलो मात्रामा स्टक भएको र घरधनी समेतसँग भाडा लगायतका कुरामा विवाद रहेको प्रहरीले बताएको छ । शंका लागेर सुजनलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सबै काम योजना अनुसार नै गरेको स्वीकार गरेका छन् ।
पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट पवनले इन्स्योरेन्सबाट ३१ लाख रुपैंया पाएका थिए । त्यसैबाट प्रभावित भएर आफूले योजना बनाएको सुजनले स्वीकारेका छन् ।
गहतराजले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा दुवै जना बस्छन् । उनीहरु सपिङ सेन्टर भित्र बाहिर गरिरहन्छन् । उनीहरु दुवैजना १०/१५ मिनेट भित्र बसी बाहिर निस्की सुजनले सटर लगाइ हतारहतार गाडी लिएर तालबाराही स्कुल गएका थिए । त्यतिबेला पवन पसलकै बाहिर बसेका थिए । एकछिनपछि पवनले सलाई कोरेर फाली गाडीकै पछि लागेका थिए ।
प्रहरीका अनुसार सुजन यसअघि जुवामुद्दामा पक्राउ परी छुटेका थिए । पवन भने यसअघि यस्ता घटनामा संलग्न भएको नपाइएको प्रहरीले जनाएको छ ।
तस्वीर: सागर ढकाल